धनगढी –सुदूरपश्चिमको बहुप्रतिक्षित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने भएको छ। विश्वविद्यालयका उपकुलपति प्रा डा सुनिलकुमार जोशीले हाल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसारका कामहरू धमाधम भइरहेको जानकारी दिँदै आगामी एक महिनाभित्र गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण जडान र शैक्षिक जनशक्ति नियुक्तिको काम अन्तिम चरणमा पुगेको बताएका छन्।
मन्त्रिपरिषद्को यसै शैक्षिक सत्रमा चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार आवश्यक बजेट व्यवस्थापन भई सैद्धान्तिक तथा प्राविधिक प्रक्रियाहरू पनि अगाडि बढिसकेका छन्।
प्रादेशिक अस्पतालहरूसँग सहकार्य
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कैलालीका सेती, लम्कीचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ। यस निर्णयको स्वागत गर्दै उपकुलपति प्रा डा जोशीले यसले विश्वविद्यालय र अस्पतालबीचको सहकार्यको दायरा विस्तार गर्न महत्त्वपूर्ण टेवा पुग्ने बताएका छन्।
स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को दफा २० को उपदफा (२) मा विश्वविद्यालयले तीनै तहका सरकारअन्तर्गत सञ्चालित अस्पतालसँग सम्झौता गरी शिक्षण अस्पतालका रूपमा उपयोग गर्न सक्ने कानुनी व्यवस्था रहेको छ। प्रादेशिक अस्पतालसँगको सहकार्यले गेटामा बन्ने अस्पतालको शय्या विस्तारमा कुनै अवरोध नपर्ने स्पष्ट पार्दै उपकुलपति जोशीले यसले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइ र ‘एक्स्पोजर’को दायरालाई अझ फराकिलो बनाउने बताए।
यसै वर्षदेखि यी विषयमा पठनपाठनको तयारी
विश्वविद्यालयमा यसै वर्षदेखि विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी तीब्र पारिएको छ:
- एमबिबिएस: ५० जना
- बिएस्सी नर्सिङ: ३० जना
- बिएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी): २० जना
- बी अप्टोमेट्री: २० जना
चिकित्सा शिक्षा आयोगमा आवेदन बुझाइसकिएको र ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोतसमेत सुनिश्चित भइसकेको छ। आगामी भदौ महिनामा आयोगको टोलीले स्थलगत अध्ययन गरेर थप प्रक्रिया अगाडि बढाउने जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्