धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्गप्रशस्त गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दबाब बढाएका छन्। नयाँ राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनको वातावरण बनाउन भन्दै दुवै दलका सांसदहरूले संयुक्त रूपमा मुख्यमन्त्रीलाई भेटेर राजीनामाका लागि आग्रह गरेका हुन्।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर सत्तागठबन्धनका सांसदहरूले वर्तमान राजनीतिक परिस्थिति र उत्पन्न अप्ठ्यारो अवस्थाबारे ध्यानाकर्षण गराएका थिए। गत साउन ३१ गते एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। यसबीचमा एमाले र नेकपाबीच तीनबुँदे सहमति भएपछि सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने तयारी थालेको छ। तर, मुख्यमन्त्रीले मार्गप्रशस्त नगर्दा नयाँ सरकार गठनका सबै प्रक्रिया अवरुद्ध बन्दै गएका छन्।
छलफलमा सांसदहरूको कडा दबाब र तर्क
भेटका क्रममा नेकपा उपनेता प्रकाश रावलले एमालेसँग मिलेर सरकार गठन गर्ने सबै विषय टुंगिसकेको भन्दै अब अनावश्यक अलमल नगरी मार्गप्रशस्त गर्न मुख्यमन्त्रीलाई आग्रह गरे। ‘हाम्रोबीच कुनै खटपट छैन, नयाँ गठबन्धन राम्रोसँग अघि बढिरहेको छ, त्यसैले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ,’ उनले भने।
त्यस्तै, नेकपाका अर्का नेता अक्कल रावलले अल्पमतमा परिसकेपछि पनि पदमा टाँसिरहनु अनुपयुक्त हुने बताए। ‘कर्मचारीले तलब पाएका छैनन्, बजेट शून्यता छ। बहुमत गुमिसकेपछि सत्ता लम्ब्याउनु राम्रो होइन, राजनीतिक ढङ्गले निर्णय लिनुहोस्,’ उनले सुझाव दिए। नेकपाका प्रमुख सचेतक खुशीराम चौधरी र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले पनि राजनीतिक नैतिकता देखाउँदै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिए।
छलफलका क्रममा नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रदेशमा राजनीतिक स्थायित्व कायम गर्नुपर्ने आवश्यकता औँल्याए। एउटै कार्यकालमा प्रदेशले तीन-चार जना मुख्यमन्त्री पाउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उनले भने, ‘यस्तो बेला बहुमत गुमिसकेपछि पनि त्यहाँ बसिरहनु राम्रो होइन, राजनीतिक नैतिकता देखाउनुस्।’
मुख्यमन्त्री शाहको प्रतिप्रश्न र नयाँ राजनीतिक दाउपेच
सांसदहरूको संयुक्त दबाब सुनेपछि मुख्यमन्त्री शाहले आफ्नो स्पष्ट धारणा राख्दै तत्काल राजीनामा दिने वा विश्वासको मत लिने विषयमा प्रष्ट संकेत दिएनन्। छलफलमा एमाले उपनेताको उपस्थितिमाथि प्रश्न उठाउँदै उनले दलका नेता किन उपस्थित नभएको भनी प्रतिप्रश्न गरेका थिए।
साथै, उनले केन्द्रका शीर्ष नेताहरूले आफूलाई धोका दिएको गुनासो पोखे। कांग्रेस सभापति गगन थापासँगको संवादमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट पास गराउने आश्वासन दिए पनि अन्त्यमा धोका दिएको उनको भनाइ थियो। त्यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशीमा असफल भएपछि सुदूरपश्चिममा बजेट फेल गराउने रणनीति बनाएको आरोप समेत उनले लगाए।
करिब ३० मिनेट चलेको उक्त छलफलबाट मुख्यमन्त्री शाहले तत्काल राजीनामा नदिने स्पष्ट संकेत दिएको नेकपा सांसद अक्कल रावलले बताए। ‘हामीले सहज निकास निकाल्न आग्रह गरेका थियौँ, तर उहाँले सत्ता जोगाउने खेल अझै जारी राख्ने संकेत देखाउनु भयो,’ रावलले भने। मुख्यमन्त्री शाहले सरकार टिकिरहने आधारहरू अझै जीवित रहेको दाबी गर्दै भनेका छन्, ‘शेरबहादुर देउवा पनि आउँदै हुनुहुन्छ, म भोलि काठमाडौं जाँदैछु। नयाँ खालको तयारी भइरहेको छ, त्यसैले तत्काल राजीनामा दिन आवश्यक छैन।’
बहुमत गुमाइसकेको अवस्थामा पनि मुख्यमन्त्री शाहले सत्ता लम्ब्याउने संकेत देखाएपछि सुदूरपश्चिमको राजनीतिक सरगर्मी थप बढेको छ।




प्रतिक्रिया दिनुहोस्