धनगढी — सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीले सरकारी सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यसहित ‘पेपरलेस धनगढी’ सेवाको औपचारिक सुरुवात गरेको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उपमहानगरले नयाँ प्रणालीमार्फत सेवाग्राहीलाई छिटो, पारदर्शी, झन्झटमुक्त र प्रविधिमैत्री सेवा उपलब्ध गराइने जनाएको हो।
उपमहानगरका सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर अनुप भट्टका अनुसार धनगढीमा बसाइँसराइका कारण जनसंख्या बढ्दै गएकाले डिजिटल प्रणालीमार्फत वास्तविक नगरवासी र करदाताको पहिचान गर्न सहज हुनेछ। यसले नगरवासीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउन समेत सहयोग पुग्ने उनको भनाइ छ।
उपमहानगरले सेवा प्रवाहलाई एउटै प्लेटफर्ममा ल्याउन एकीकृत डिजिटल प्रणाली (यूडीजीपी) सञ्चालनमा ल्याएको जनाएको छ। यो प्रणालीमा विभिन्न सफ्टवेयरहरू एकीकृत गरिएकाले नागरिकले एकपटक अपलोड गरेको कागजात पुनः–पुनः बुझाउनुपर्ने अवस्था हट्ने बताइएको छ।
भट्टका अनुसार अहिले विभिन्न स्थानीय तहमा छुट्टाछुट्टै डिजिटल प्रणाली प्रयोग हुँदा सूचना व्यवस्थापनमा समस्या देखिएको छ। तर यूडीजीपीले सबै विवरण एउटै प्लेटफर्ममा राख्ने भएकाले सेवा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको पहिलो चरणमा उपमहानगरका १९ वटै वडाका सचिवलाई तालिम दिइएको छ। यसअन्तर्गत नागरिक ई–केवाईसी, विभिन्न सिफारिस, फाइल ट्र्याकिङलगायतका सेवाबारे क्षमता अभिवृद्धि गरिनेछ।
प्रविधि प्रयोग गर्न कठिनाइ हुने सेवाग्राहीका लागि उपमहानगरले कार्यालयमै हेल्पडेस्क स्थापना गरेको छ। त्यहाँबाट कर्मचारीले डिजिटल माध्यममै विवरण दर्ता गरी आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
नयाँ प्रणाली लागू भएसँगै जन्मदर्ता, नागरिकताका लागि सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणलगायतका सेवा घरबाटै अनलाइनमार्फत लिन सकिनेछ। आवश्यक कागजात अपुग भएमा सम्बन्धित व्यक्तिको मोबाइलमा सन्देश पठाइने व्यवस्था पनि गरिएको छ।
यस्तै, सेवाग्राहीले मोबाइलमै आधिकारिक कागजात प्राप्त गरी प्रिन्ट गर्न सक्नेछन्। कागजातको प्रमाणीकरणका लागि क्यूआर कोड प्रयोग गरिनेछ, जसलाई अन्य कार्यालयले स्क्यान गरेर सहजै प्रमाणित गर्न सक्नेछन्।
यूडीजीपी प्रणालीमा ई–सिग्नेचर, डिजिटल अभिलेख व्यवस्थापन, गुनासो तथा सुझाव व्यवस्थापन, डिजिटल भुक्तानी तथा राजस्व संकलन, विकास निर्माण अनुगमन, सार्वजनिक सूचना, विपद् व्यवस्थापन, डेटा सुरक्षा र डेटा दृश्यावलोकनलगायतका सुविधा पनि समावेश गरिएका छन्।




प्रतिक्रिया दिनुहोस्