कैलाली । नयाँ सत्ता समीकरणअनुसार सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रचण्ड र ओलीको निर्देशनपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक गृहकार्यमा सहमति जुटेको छ ।
केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको तीनबुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने भए पछि उक्त पार्टीको दलमा नेता खगराज भट्टलाई नै मुख्यमन्त्री बनाउने विषयमा सहमति भएको हो ।
‘नेकपाको जिम्मेवारीमा मुख्यमन्त्री परेपछि संसदीय दलका नेतालाई नै मुख्यमन्त्री बनाउने विषयमा केन्द्रमा सबै नेताहरूको एकमत छ,’ नेकपाका एक सांसदले भने, ‘पार्टी नेतृत्वमा मात्रै होइन, संसदीय दलभित्र पनि उनको विकल्पका विषयमा कुनै छलफल छैन। ’
संविधानको धारा १६८ (२) अनुसार बन्ने सरकारको नेतृत्व गर्न संसदीय दलका नेता नै हुनुपर्ने व्यवस्था छैन। यस्तो अवस्थामा दार्चुलाबाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित मानबहादुर धामीले पनि मुख्यमन्त्रीमा दाबी नगरेका भने होइनन्। तर केन्द्रमा भएको छलफल र सहमतिपछि अहिले मुख्यमन्त्रीमा खगराज भट्टको विकल्प नरहेको उनी स्वयम् बताउँछन्।
‘दुई दलको सहमतिअनुसार अहिले मुख्यमन्त्री हाम्रो दलले पाएको छ। हाम्रो दलबाट मुख्यमन्त्रीमा दलको नेतालाई अघि सार्ने विषयमा हामी एकमत छौं,’ धामीले भने।
मुख्यमन्त्रीको विषयमा करिब टुंगो लागेपछि अहिले मन्त्री बनाउने विषयमा पनि आन्तरिकरुपमा तीव्र छलफल भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा आएका केही नेताहरूलाई यसअघि कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरू अहिले एमालेले पाउनुपर्ने बताएका थिए। त्यस्तो हुँदा एमालेको भागमा आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा सामाजिक विकास मन्त्रालय पर्ने सम्भावना रहेको छ। तर नेकपाभित्रै मुख्यमन्त्री रहेको दलबाटै आर्थिक मामिला मन्त्री बनाउनुपर्ने विषयमा पनि दबाब बढिरहेको छ।
नेताहरूको सहमतिका आधारमा मन्त्री र मन्त्रालयको टुंगो लगाउने सहमति भएको छ। नेकपाले मन्त्री छनोटका लागि प्रदेश इञ्चार्ज भानुभक्त जोशी, प्रदेश संयोजक हरि चौधरी ‘उत्सव’ र संसदीय दलका नेता खगराज भट्ट रहने गरी एउटा कार्यदल बनाएको छ।
‘केन्द्रको सुझावमा प्रदेश संसदीय दलभित्रका सांसदहरूको भावना समेटिने गरी मन्त्रीको नाम टुंगो लगाउन तीन सदस्यीय कार्यदल बनाइएको छ,’ नेकपाका एक सांसदले भने, ‘केन्द्रसँग समन्वय र परामर्श गरेर त्यही कार्यदलले टुंगो लगाउने कुरा भएको छ।’
अहिले नेकपाले मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री पाउने कुरा भएको छ। छोटो समयका लागि प्रभावकारी काम गर्नुपर्ने भन्दै राज्यमन्त्री नराख्ने विषयमा पनि आन्तरिक छलफल भईरहेको बताइएको छ ।
तीन मन्त्रालयमध्ये मुख्यमन्त्रीसहित एक मन्त्री साविक माओवादी केन्द्रबाट बनाउने विषयमा नेताहरू सहमत छन्। एक मन्त्री साविक नागरिक उन्मुक्ति पार्टीबाट र एक मन्त्री साविक नेकपा (एकीकृत समाजवादी)बाट बनाउने विषयमा पनि कुरा भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई भेटेर प्रस्तावित मुख्यमन्त्री भट्ट कैलाली आइसकेका छन्। दुवै नेताले उनलाई प्रदेशमा गएर चाँडै सरकार निर्माणको गृहकार्य गर्ने निर्देशन दिएको उनले बताए ।
असार ३१ गते एमालेले समर्थन फिर्ता दिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा छन्। उनले अब विश्वासको मत लिनु वा राजीनामा दिनु—दुई विकल्प छन्। मुख्यमन्त्री शाहले अन्तिम समयसम्म अवस्था हेर्ने रणनीति बनाएका छन्।
‘एमालेले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ,’ मुख्यमन्त्री शाह भन्छन्, ‘त्यो समयसीमाभित्रै निर्णय लिन्छु। ’
अहिलेसम्म राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा मुख्यमन्त्रीले कुनै निर्णय गरेका छैनन्। तर अधिकांशसँग संसद्मा सम्बोधन गरेर राजीनामा दिने विषयमा छलफल गरिरहेका छन्।




प्रतिक्रिया दिनुहोस्