धनगढी । तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा भएका धार्मिक तनाव, आगजनी, तोडफोड तथा बन्द–हड्तालजस्ता घटनाबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै कैलालीमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न तीनबुँदे निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीको आह्वानमा बसेको अन्तरधार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले जिल्लाभर सामाजिक एकता र धार्मिक सद्भावलाई थप सुदृढ बनाउन स्थानीय तहसँग समन्वय गरी पालिका तथा वडास्तरमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन गर्ने निर्णय गरेको हो।
बैठकले एउटै धार्मिक समुदायको मात्र सहभागिता रहने सभा, जुलुस वा र्याली सकेसम्म आयोजना नगर्न आग्रह गरेको छ। विशेष परिस्थितिमा यस्ता कार्यक्रम गर्नुपर्ने भए सम्बन्धित स्थानीय प्रशासनलाई पूर्वजानकारी गराई आवश्यक स्वीकृति लिएर मात्रै सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ। साथै, सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै पक्षलाई अनुरोध गरिएको छ।
यस्तै, कुनै व्यक्ति वा संस्थाबाट अर्को धार्मिक समुदायको आस्था र सम्मानमा चोट पुग्ने किसिमका गतिविधि भए तत्काल कानुनी प्रक्रिया अघि बढाइने निर्णय पनि बैठकले गरेको छ। वर्तमान संवेदनशील अवस्थालाई दृष्टिगत गर्दै छिमेकी मुलुकबाट सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै व्यक्तिले आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गरेपछि मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णयसमेत गरिएको छ।
यसैबीच, धार्मिक तथा सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघ धनगढीको नेतृत्वमा साउन १८ गते धनगढीमा ‘नागरिक सद्भाव र्याली’ आयोजना गरिने निर्णय पनि बैठकले गरेको छ।




प्रतिक्रिया दिनुहोस्