धनगढी: बैतडीको डिलासैनी गाउँपालिका–६ चौसेरा र कुयादहका किसानले दुई महिनामै तरकारी बिक्रीबाट करिब दुई करोड रुपैयाँ आम्दानी गरेका छन्। भारतबाट आउने तरकारीमा रोक लगाएपछि स्थानीय उत्पादनले बजार पाउँदा किसान उत्साहित भएका हुन्।
चौसेरा र कुयादहका करिब ५० परिवारले नियमित रूपमा तरकारी खेती गर्दै आएका छन्। गत वैशाख र जेठमा उत्पादन भएका काक्रा, लौका, फर्सी, टमाटर, घिरौला, सिमी, करेला लगायतका तरकारीले राम्रो मूल्य पाएपछि गाउँमा ठूलो कारोबार भएको किसानहरूले बताएका छन्।
डिलासैनी–६ का अगुवा किसान प्रेमसिंह मालले यसपटक पहिलोपटक आफ्नो उत्पादनले सहज बजार पाएको बताए। २०४३ सालदेखि तरकारी खेती गर्दै आएका मालले १५ रोपनी जग्गामा खेती गर्दै आएका छन्। उनका अनुसार भारतबाट तरकारी आयात नहुँदा स्थानीय उत्पादनले उचित मूल्य पाएको हो।
“यस वर्ष तरकारी बिक्री गर्न समस्या भएन, मूल्य पनि राम्रो पाइयो,” मालले भने। उनका अनुसार गाउँका करिब ५० किसानले वैशाख र जेठमा मात्रै दुई करोड रुपैयाँभन्दा बढीको तरकारी बिक्री गरेका छन्।
स्नातक अध्ययन गरेका युवा किसान नवीन मालले पनि यस वर्ष तरकारी खेतीबाट राम्रो आम्दानी भएको बताए। ६ रोपनी जग्गामा खेती गर्दै आएका उनले काक्रा, लौका, फर्सी, सिमी, भन्टा, भेडेखुर्सानी, करेला र तोरीया स्थानीय बजारमै बिक्री गरेका छन्।
यस्तै, ६५ वर्षीय रामसिंह मालले नौ रोपनी जग्गामा उत्पादन गरेको तरकारीमध्ये लौका मात्रै एक लाख रुपैयाँभन्दा बढीको बिक्री गरेको जानकारी दिए। उनका अनुसार यस वर्ष बारीबाटै काक्रा, लौका र करेला बिक्री भएको छ।
डिलासैनी–६ का अर्का किसान पदमबहादुर बोहराले १० रोपनी जग्गामा उत्पादन गरेको तरकारीबाट साढे ६ लाख रुपैयाँ आम्दानी गरेका छन्। उनले बैतडी र दार्चुलाका बजारमा स्थानीय उत्पादन सहज रूपमा बिक्री भएको बताए।
किसानहरूका अनुसार भारतबाट आउने तरकारीमा रोक लगाउने सरकारी नीतिले यसपटक स्थानीय उत्पादनलाई बजार उपलब्ध गराएको छ। तर, स्थानीय र प्रदेश सरकारबाट भने उत्पादन बढाउन आवश्यक सहयोग तथा सहुलियत नपाएको उनीहरूको गुनासो छ।
किसानहरूले आयात नियन्त्रणको नीति निरन्तर लागू भए पहाडी क्षेत्रका तरकारी उत्पादकलाई थप प्रोत्साहन मिल्ने बताएका छन्।




प्रतिक्रिया दिनुहोस्