धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले करिब ४ करोड ५१ लाख रुपैयाँ खर्चेर निर्माण गराएको कैलाली बहुमुखी क्याम्पसको विज्ञान तथा सूचनाप्रविधि भवन हस्तान्तरण भएको दुई वर्ष नपुग्दै चुहिन थालेपछि निर्माणको गुणस्तरमाथि प्रश्न उठेको छ।
सामाजिक विकास मन्त्रालयमार्फत निर्माण गरिएको ‘ए’ ब्लक भवनको छतबाट सामान्य वर्षामै पानी चुहिन थालेपछि क्याम्पसले आफ्नै खर्चमा मर्मत थालेको हो। मर्मतका क्रममा छतको सतह खोल्दा प्लास्टिकका टुक्रा प्रयोग गरिएको भेटिएको छ भने पर्खालको प्लास्टरमा आवश्यक मात्रामा सिमेन्ट प्रयोग नगरिएको देखिएको क्याम्पसले जनाएको छ। यसका कारण भवनका विभिन्न भागमा चर्किने समस्या पनि देखिएको छ।
उक्त भवन २०८१ जेठ १६ गते तत्कालीन मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी र तत्कालीन मन्त्रालयका सचिव गणेशबहादुर सिंहले क्याम्पसलाई हस्तान्तरण गरेका थिए। तर भवन सञ्चालनमा आएको छोटो समयमै पानी चुहिने, झ्यालबाट वर्षाको पानी पस्ने र प्रयोगशालामा रहेका लाखौँ रुपैयाँका उपकरण जोखिममा पर्ने अवस्था सिर्जना भएको क्याम्पस प्रशासनको भनाइ छ।
समस्या बढ्दै गएपछि क्याम्पसले आफ्नै स्रोतबाट छतमा वाटरप्रुफिङ गर्ने काम सुरु गरेको छ। निर्माण कम्पनी र सम्बन्धित सरकारी निकायले जिम्मेवारी पूरा नगर्दा अतिरिक्त आर्थिक भार क्याम्पसले नै बेहोर्नुपरेको प्रशासनले जनाएको छ।
क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टका अनुसार समस्या समाधानका लागि सामाजिक विकास मन्त्रालय र निर्माण कम्पनी रोयल पवन जेभीलाई पटक–पटक जानकारी गराइएको भए पनि हालसम्म कुनै प्रभावकारी पहल भएको छैन। उनका अनुसार झ्यालमा मापदण्डअनुसार सिलिकन प्रयोग नगरिएकाले पनि भवनभित्र पानी पस्ने समस्या देखिएको हो।
भवन निर्माणको जिम्मा लिएको रोयल पवन जेभी र निर्माणको अनुगमन तथा स्वीकृति दिएको सामाजिक विकास मन्त्रालय दुवैले आफ्नो दायित्व पूरा नगरेको आरोप क्याम्पसको छ। वारेन्टी अवधिमै मर्मत हुनुपर्ने भवन अहिले क्याम्पसले आफ्नै बजेटबाट मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ।
सार्वजनिक लगानीबाट निर्माण गरिएका संरचनामा गुणस्तर कायम नगर्दा राज्यको स्रोतको दुरुपयोग मात्र नभई सार्वजनिक निर्माण प्रणालीप्रतिको विश्वाससमेत कमजोर हुने सरोकारवालाहरूको भनाइ छ।




प्रतिक्रिया दिनुहोस्