बैतडी — भारतस्थित धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध सफाइका लागि खोलिने भएपछि महाकाली नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले महाकाली किनारमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको हो।
दार्चुला जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारीअनुसार धौलिगङ्गा पावरस्टेसनको स्लुइस गेट सफाइका लागि साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १५ गते शुक्रबार अपराह्न ६ बजेसम्म बाँध खोलिनेछ। करिब ३६ घण्टासम्म बाँध खोल्ने तयारी गरिएको छ।
बाँध खोलिएपछि महाकाली नदीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, माछा मार्ने, ढुंगा–बालुवा संकलन गर्ने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न समेत अनुरोध गरेको छ।
त्यसैगरी स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायलाई सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।




प्रतिक्रिया दिनुहोस्