बैतडी — आफ्नै गोरुलाई निर्ममतापूर्वक कुटपिट गरी भिरबाट फाल्ने घटनामा संलग्न एक नाबालक पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–१ लदैलीका ती नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार स्थानीय जंगलमा गोरुलाई लौरोले कुटपिट गरी घाइते बनाएपछि भिरबाट फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय पाटनले गोरुमाथि कुटपिट गर्ने नाबालक र भिडियो खिच्ने अर्का व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक सोधपुछपछि भिडियो बनाउने व्यक्तिलाई छाडिएको र कुटपिटमा संलग्न नाबालकमाथि पशुपन्छीसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा फैलिएको भिडियोमा नाबालकले गोरुलाई लौरोले कुटपिट गरेको र त्यसपछि भिरबाट खसालेको देखिन्छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्