धनगढीःधनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु शैक्षिक सत्रदेखि एमबिबिएस कार्यक्रम सञ्चालन नभए आफू अनशनमा बस्ने घोषणा गरेका छन्।
सोमवार डोटीको बुडरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालय सञ्चालनमा ढिलाइ भएकोप्रति असन्तुष्टि व्यक्त गरे। सुदूरपश्चिमका नागरिकले लामो समयदेखि मेडिकल विश्वविद्यालयको माग गर्दै आएको उल्लेख गर्दै उनले अब थप ढिलाइ स्वीकार्य नहुने बताए।
हमालले विश्वविद्यालयका पदाधिकारी को हुने भन्ने विषयभन्दा पनि तत्काल शैक्षिक गतिविधि सुरु हुनु महत्त्वपूर्ण रहेको धारणा राखे। उनका अनुसार यसै शैक्षिक सत्रबाट एमबिबिएसको पढाइ सुरु हुनुका साथै अस्पतालसमेत पूर्ण रूपमा सञ्चालनमा आउनुपर्ने स्थानीयको साझा अपेक्षा रहेको छ।
“यदि यो शैक्षिक सत्रदेखि एमबिबिएसको पढाइ सुरु भएन भने म स्वयं अनशनमा बस्छु। आवश्यक परे आन्दोलनको नेतृत्व पनि म नै गर्छु,” उनले भने।
उनको यो अभिव्यक्तिसँगै गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सञ्चालन र एमबिबिएस कार्यक्रम सुरु गर्ने विषय फेरि चर्चामा आएको छ।




प्रतिक्रिया दिनुहोस्