सेती प्रादेशिक अस्पतालमा आइसियु शय्या नपाउँदा ७२ वर्षीय वृद्धको मृत्यु, शय्या खाली नभएको अस्पतालको प्रष्टिकरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलबारीका ७२ वर्षीय विष्णुप्रसाद थारुको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि अस्पतालको सेवा व्यवस्थामाथि प्रश्न उठेको छ। परिवारले आइसियु शय्या नपाउँदा समयमै उपचार हुन नसकेको दाबी गरेको छ भने अस्पतालले बिरामीलाई अन्तिम अवस्थामा ल्याइएको र त्यसबेला सबै आइसियु शय्या भरिएका कारण भर्ना गर्न नसकिएको स्पष्ट पारेको छ।

परिवारका अनुसार दमको समस्या बढेपछि असार ३१ गते साँझ थारुलाई धनगढीस्थित एक निजी अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले तत्काल आइसियुमा राख्नुपर्ने र उपचारका लागि करिब एक लाख रुपैयाँ आवश्यक पर्ने बताएपछि आर्थिक अभावका कारण परिवारले सरकारी अस्पताल रोजेको थियो।

त्यसपछि उनलाई सेती प्रादेशिक अस्पताल ल्याइए पनि आइसियु शय्या खाली नभएको भन्दै पर्खन भनिएको मृतककी छोरी मनपतिदेवी चौधरीले बताइन्। उनका अनुसार चिकित्सकले आइसियु आवश्यक रहेको बताए पनि राति अबेरसम्म शय्या उपलब्ध हुन सकेन।

‘बुबाको अवस्था निकै गम्भीर थियो। राति २ बजेसम्म पर्खन भनियो, तर आइसियु बेड पाइएन। त्यसपछि उहाँको अवस्था झन् बिग्रँदै गयो र बिहान करिब ४ बजे मृत्यु भयो,’ उनले भनिन्।

घटनापछि मनपतिदेवीले बुबाको अन्तिम अवस्थासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आर्थिक कमजोरी र उपचारमा भएको ढिलाइका कारण ज्यान गएको आरोप लगाएकी छन्। उनले सर्वसाधारणका लागि गुणस्तरीय र समयमै उपचार सुनिश्चित गर्न राज्यले प्रभावकारी व्यवस्था गर्नुपर्ने माग पनि गरेकी छन्।

यता सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले भने बिरामीलाई निकै जटिल अवस्थामा राति करिब १२ बजे निजी अस्पतालबाट रेफर गरेर ल्याइएको बताए। उनका अनुसार त्यसबेला अस्पतालका सबै १५ वटा आइसियु शय्या भरिएका थिए।

‘बिरामी आउँदा आइसियुका सबै बेडमा गम्भीर अवस्थाका बिरामी उपचाररत थिए। त्यसैले आकस्मिक कक्षमै उपलब्ध स्रोतसाधनबाट उपचार गरिएको हो,’ श्रेष्ठले बताए।

सुदूरपश्चिम प्रदेशको प्रमुख रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक छ। अस्पताललाई सरकारले ५० शय्याको मात्रै स्वीकृति दिएको भए पनि हाल करिब ३०० शय्या सञ्चालनमा छन्। जनशक्ति र पूर्वाधार विस्तार भए पनि बिरामीको अत्यधिक चापका कारण आइसियु लगायतका विशेष सेवा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अस्पताल स्रोतको भनाइ छ।

घटनापछि प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा आइसियु शय्या, स्वास्थ्य पूर्वाधार र आपत्कालीन उपचार व्यवस्थापनबारे पुनः बहस सुरु भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार