धनगढीः हुलाकी सडक क्षेत्रमा ट्राफिक नियम कार्यान्वयनलाई कडा बनाउँदै अस्थायी ट्राफिक प्रहरी पोस्ट फूलबारीले सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको विद्यालय बसलाई कारबाही गरेको छ।
आइतबार गरिएको नियमित चेकजाँचका क्रममा फूलबारी एकेडेमीको विद्यालय बसमा तोकिएको क्षमताभन्दा बढी विद्यार्थी भेटिएपछि ट्राफिक प्रहरीले दुई हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट फूलबारीका इन्चार्ज भुवन सिंहका अनुसार विद्यालय बसले ट्राफिक नियम उल्लंघन गरेको गुनासो बढ्दै गएपछि निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको हो। उनले विद्यालय सञ्चालकलाई सिट क्षमताभन्दा बढी विद्यार्थी नबोक्न आग्रह गर्दै नियम उल्लंघन गर्नेलाई आगामी दिनमा पनि कानुनअनुसार कारबाही गरिने बताए।
प्रहरीले हुलाकी सडक क्षेत्रमा कालो सिसा प्रयोग गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि समेत नियमित निगरानी भइरहेको जनाएको छ।
फूलबारी क्षेत्रका केही निजी विद्यालयका बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने गुनासो पटक–पटक आउने गरेको प्रहरीको भनाइ छ। गर्मीयाम, जीर्ण सडक र कोचाकोच यात्राले विद्यार्थीको सुरक्षामा जोखिम बढ्ने भएकाले विद्यालय बसले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ।
यसअघि पनि ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको सवारीसाधनलाई कारबाही गरेको थियो। पछिल्लो समय हुलाकी सडक क्षेत्रमा ट्राफिक अनुगमनलाई थप कडा बनाइएको प्रहरीको भनाइ छ।




प्रतिक्रिया दिनुहोस्