काठमाडौँ |
सडक, संसद् र सामाजिक सञ्जालमा सरकार विरोधी आक्रोश बढ्दै गएपछि प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले दुई दिनयता लगातार सघन छलफल गरिरहेका छन्। शनिबार बालुवाटारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित भएको छलफललगत्तै आइतबार प्रधानमन्त्री शाह आफैँ सभापति लामिछानेको निवास बुढानीलकण्ठ पुग्नुभएको हो।
सभापति रविको प्रधानमन्त्री शाहलाई ३ कडा सुझावहरू
पार्टी र सचिवालय स्रोतका अनुसार लामिछानेले प्रधानमन्त्री शाहलाई बदलिँदो राजनीतिक र सामाजिक परिस्थितिको वस्तुनिष्ठ मूल्याङ्कन गर्दै प्रशासनिक कार्यशैली सुधार्न देहायका सुझावहरू दिनुभएको छ:
१. सचिवालय बलियो र परिपक्व बनाउनुहोस्:
पछिल्लो समय प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरूको अदूरदर्शिताका कारण सरकार र पार्टी विवादमा परिरहेकाले राजनीतिक रूपमा परिपक्व र कूटनीतिक बौद्धिकता भएका व्यक्तिहरू राखेर सचिवालय पुनर्संरचना गर्न रविको जोड थियो।
२. जेनजी (Gen-Z) र युवा आक्रोशको सम्बोधन:
जुन युवा र ‘जेनजी’ पुस्ताको विद्रोहको बलमा गत वर्ष ओली सरकारलाई विस्थापित गर्दै बालेन शाह प्रधानमन्त्री बन्नुभएको थियो, आज त्यही पुस्ता सडकमा ओर्लिएकाले उनीहरूको असन्तुष्टिलाई बल प्रयोगबाट होइन, राजनीतिक संवादबाट तत्काल समाधान गर्न लामिछानेले आग्रह गर्नुभयो।
३. सुकुमबासी मुद्दामा मानवीय दृष्टिकोण:
राहदानी विभाग अगाडि राइडर गणेश नेपालीको आत्मदाह र दुःखद निधनपछि महानगर र सरकारको चौतर्फी आलोचना भइरहेको छ। रविले सुकुमबासी विस्थापन प्रक्रियालाई तत्काल रोक्न र उनीहरूको दीर्घकालीन पुनर्र्स्थापनाका लागि मानवीय र व्यावहारिक विकल्पहरू अघि सार्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो।
रास्वपाको आन्तरिक समिति विस्तारको एजेन्डा
४ घण्टा लामो यस छलफलमा सरकार सञ्चालनका साथै रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनपछि बाँकी रहेका ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्यहरूको नियुक्ति प्याकेजमै टुङ्ग्याउने विषयमा पनि सहमति खोजिएको छ। बालेन शाह र रवि लामिछाने पक्षबीच भागबण्डा र सन्तुलन मिलाएर चाँडै पूर्ण केन्द्रीय समितिको घोषणा गरिने सचिवालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्