नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा बढ्दो निराशा, आत्मदाहका घटना र सुकुम्बासीको दयनीय अवस्थाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
उनले यो विषयलाई सत्ता–प्रतिपक्षको राजनीति नभई समाजमा आशा जगाउने प्रश्नका रूपमा लिन आग्रह गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत जारी गरेको भिडिओ सन्देशमा उनले विकट गाउँबाट आएका गणेश नेपालीले काठमाडौंमा आत्मदाह गर्नुपरेकोदेखि कीर्तिपुरको होल्डिङ सेन्टरमा साना बालबालिका भोकले तडपिरहेको अवस्थासम्मका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्।
‘सरकारले बर्खाको समयमा उठिबास लगाएर आफ्नै देशभित्र शरणार्थीजस्तै बनाएका सुकुम्बासीहरू अझ कष्टकर जीवन बिताइरहेका छन्,’ उनले भनेका छन्।
उपसभापति शर्माले अहिले सरकारको आलोचना गर्नेभन्दा पनि सहकार्य गरेर समाजमा आशा जगाउनुपर्ने आवश्यकता रहेको बताए।
‘हाम्रो पालामा प्रेम आचार्यले आत्मदाह गर्नुभयो, आज फेरि गणेश नेपालीले आत्मदाह गर्नुभयो। समाजमा यस्तो निराशा किन बढ्दैछ? मानिसमा आशा किन मर्दैछ? पुरानाप्रतिको विश्वास तुट्यो, तर नयाँप्रतिको विश्वास पनि किन क्रमशः खण्डित हुँदैछ? मूल प्रश्न यही हो,’ उनले भने।
शर्माले होल्डिङ सेन्टरमा कोही पनि भोकै बस्न नपरोस्, फेरि कसैले आत्मदाह गर्नुपर्ने अवस्था नआओस् भन्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे।
यस्ता विषयमा कांग्रेस सरकारको साथ उभिन चाहेको उनले बताए।
‘त्यसैले यो बेलामा असह्य पीडा भएर म सरकार खोजिरहेको छु। सरकारलाई साथ दिनका लागि हामी सरकार खोजिरहेका छौं,’ उनले भनेका छन्।
होल्डिङ सेन्टरमा गएर सुकुम्बासीको पक्षमा आवाज उठाउने युवाहरूलाई हिरासतमा राखिएको विषयमा पनि शर्माले असन्तुष्टि जनाए।
‘अब के गर्ने? सुकुम्बासीलाई पनि जेल हालिदिने? अनि भन्ने— कम्तीमा जेलमा त खान र ओतको व्यवस्था छ?’ उनले प्रश्न गरे।
उनले सरकार सिंहदरबार वा संसद्मा मात्र सीमित नभई समस्यामा परेका नागरिकबीच उपस्थित हुनुपर्नेमा जोड दिए।
‘सरकार सिंहदरबारमा भेटियोस्, संसद्मा भेटियोस्, सुकुम्बासीका अगाडि भेटियोस्, निराश भएको युवकको अगाडि भेटियोस् र उसलाई भनिदियोस्— सरकार छ, निराश हुनुपर्दैन, कसैले जीवन त्याग्नुपर्दैन,’ उनले भने।




प्रतिक्रिया दिनुहोस्