विपद्का लागि देशभर एउटै नम्बर : सञ्चालनमा आयो टोल फ्रि नम्बर १२३४

काठमाडौं । विपद्का घटनामा तत्काल सूचना आदानप्रदान, समन्वय र नागरिकका गुनासोको छिटो सुनुवाइ सुनिश्चित गर्न सरकारले नयाँ टोल फ्रि नम्बर १२३४ सञ्चालनमा ल्याएको छ । गृह मन्त्रालयले देशभरका सबै ७७ जिल्लामा लागू हुने गरी यो सेवा सुरु गरेको हो ।

मन्त्रालयका अनुसार यसअघि प्रयोग हुँदै आएको टोल फ्रि नम्बर ११४९ लाई हटाएर सम्झन सजिलो हुने उद्देश्यले १२३४ लागू गरिएको हो । पुरानो प्रणालीमा आएका सबै फोन काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट मात्रै सम्बोधन हुने भएकाले स्थानीय तहमा तत्काल समन्वय गर्न कठिनाइ हुने गरेको थियो ।

नयाँ व्यवस्थाअनुसार अब नागरिकले १२३४ मा फोन गर्दा उनीहरू रहेको जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) मै कल स्वत: पुग्नेछ । यसले विपद्का घटनामा स्थानीय स्तरबाटै छिटो प्रतिक्रिया, उद्धार समन्वय र सूचना व्यवस्थापन गर्न सहज हुने गृह मन्त्रालयको विश्वास छ ।

काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट गरिएका कल भने सिंहदरबारस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (NEOC) मा जाने व्यवस्था गरिएको छ । उपत्यकाबाहेकका अन्य ७४ जिल्लाबाट गरिएका कल सम्बन्धित जिल्लाकै DEOC मा पुग्नेछन्, जहाँबाट आवश्यक समन्वय र सेवा उपलब्ध गराइनेछ ।

यो सेवा पूर्ण रूपमा नि:शुल्क हुनेछ । नागरिकले कुनै शुल्क नतिरी विपद्सम्बन्धी सूचना दिन, सहायता माग्न, गुनासो दर्ता गर्न वा सुझाव उपलब्ध गराउन सक्नेछन् । मन्त्रालयका अनुसार बाढी, पहिरो, भूकम्प, हावाहुरी, डढेलो, चट्याङ, अविरल वर्षा, हिमपहिरो, हिमताल विस्फोट, खडेरी, शीतलहरलगायतका प्राकृतिक विपद्का घटनामा  यो नम्बर अत्यन्त उपयोगी हुनेछ ।

साथै, गृह मन्त्रालयले नेपाल सरकारबाट जारी हुने विपद्सम्बन्धी सचेतनामूलक सूचना र एड्भाइजरीको पालना गर्न, सतर्क रहन तथा नयाँ टोल फ्रि नम्बर १२३४ को जानकारी समुदायमा समेत फैलाउन सबै नागरिकसँग आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार