धनगढी: सुदूरपश्चिम प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सम्पन्न भएको छ। आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभा नियमावली, २०८० को नियम १३६ को उपनियम (३) बमोजिम संक्षिप्त वक्तव्य प्रस्तुत गरेपछि सांसदहरूले बजेटमाथि आ–आफ्ना धारणा राखेका हुन्।
छलफलका क्रममा प्रमुख प्रतिपक्षी नेकपाका प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम र तय गरिएका प्राथमिकताअनुसार नआएको आरोप लगाए। उनका अनुसार केही योजना दोहोरिएका छन् भने योजना छनोट र बजेट विनियोजन प्रक्रियामा आवश्यक सावधानी अपनाइएको देखिँदैन।
सत्ता गठबन्धनकै साझेदार एमालेका नेता चक्रबहादुर मल्लले पनि बजेट निर्माण प्रक्रिया, योजना छनोट र आर्थिक अनुशासनका विषयमा आफ्नो पार्टी सन्तुष्ट नरहेको बताए। उनले छलफलका क्रममा उठेका सुझावलाई समेटेर बजेटका कमजोरी सच्याउन र प्रभावकारी योजनाको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।
नेपाली कांग्रेसका नेता प्रकाशबहादुर बमले बजेट निर्माणकै क्रममा मन्त्री परिवर्तन भएकाले त्यसको प्रभाव बजेटमा परेको टिप्पणी गरे। दलहरूबीच २५ लाख रुपैयाँभन्दा कम लागतका योजना समावेश नगर्ने समझदारी भए पनि त्यसको पालना नभएको उनले बताए। यद्यपि अधिकांश सांसदले सिफारिस गरेका योजना बजेटमा समेटिएकामा उनले सकारात्मक पक्षसमेत औँल्याए।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री धामीले सरकारले कुनै गलत नियतले बजेट नल्याएको स्पष्ट पारे। मन्त्री फेरबदलका कारण समय अभाव हुँदा केही योजना दोहोरिएको स्वीकार गर्दै उनले त्यसलाई छलफलमार्फत सुधार गर्न सकिने बताए। उनका अनुसार विभिन्न मन्त्रालयबाट प्राप्त योजनालाई समेट्ने क्रममा यस्तो अवस्था सिर्जना भएको हो।
मन्त्री धामीले धार्मिक पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेटमा महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको उल्लेख गर्दै सकारात्मक पक्षमाथि पनि बहस हुनुपर्ने धारणा राखे।
यसअघि बैठकको सुरुवातमा विशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य नरेश शाहीले संघीय सरकारको निर्देशनपछि प्रदेश सरकारले गरेको निर्णयका कारण गत चैत १५ यता प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको सुविधा भुक्तानी प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराए। प्रदेशसभा सदस्य ललिता सुनारले पनि उक्त समस्या तत्काल समाधान गर्न आग्रह गरिन्।
प्रदेश सभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।




प्रतिक्रिया दिनुहोस्