अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लिएर व्यावसायिक वृत्तमा चुनावी सरगर्मी बढेको छ। लामो समयदेखि संस्थाको नेतृत्व तहमा रहिसकेका र कार्यसमितिका पूर्वसदस्यहरूसमेत यतिबेला संस्थाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेका छन्। निर्वाचन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई संस्थाको भविष्यको दिशा तय गर्ने अवसर भएकाले यसपटक व्यवसायीहरूले व्यक्तिभन्दा संस्थाको गरिमालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।
बजेट र स्रोतको अन्योल :संघको आम्दानीको स्रोत विगतमा महोत्सव र केही नियमित शुल्कमा सीमित थियो। पछिल्लो समय महोत्सवहरू प्रत्यक्ष रूपमा संघको दायराबाट बाहिरिँदा संस्थाको आर्थिक आधार कमजोर बनेको छ। वार्षिक करिब ५ लाख रुपैयाँ हाराहारीको आम्दानी हुने संस्थामा हुने भड्किलो निर्वाचन खर्च आफैँमा प्रश्नको घेरामा छ। आर्थिक पारदर्शितामाथि उठ्ने गरेका प्रश्नहरू र संस्थालाई बलियो बनाउन नसक्ने विगतको प्रवृत्तिले गर्दा नयाँ नेतृत्वमाथि संस्थालाई कसरी आर्थिक रूपमा सबल बनाउने भन्ने चुनौती छ।
सदस्यता वितरण र विश्वसनीयता :निर्वाचनका बेला गरिने सदस्यता विस्तारमा देखिने हतारो र प्रक्रियागत अस्पष्टता संघको विश्वासनीयताका लागि बाधक बन्दै आएको छ। करिब १,००० सदस्य रहेको दाबी गरिने संघमा नवीकरणको अन्तिम समयसम्म ५०० को हाराहारीमा मात्रै सङ्ख्या देखिनु र त्यसपछि एकाएक दोब्बर हुनुले निर्वाचन जित्नका लागि मात्र सदस्य थप्ने परम्परागत राजनीतिक ‘रणनीति’ को झल्को दिन्छ। यस्तो परिपाटीले संस्थाको व्यावसायिक मर्मलाई भन्दा चुनावी गणितलाई बढी महत्त्व दिएको पुष्टि हुन्छ।
नेतृत्वको मानक: चाकरी कि पैरवी?
अत्तरिया क्षेत्रमा आउने कार्यलय प्रमुखहरूको स्वागत-सत्कार र चाकरीमै संस्थाको अधिकांश ऊर्जा खर्चिने गरिएको आम व्यवसायीको बुझाइ छ। संघको उद्देश्य सरकारी कार्यालयको चाकरी गर्नु नभएर व्यवसायीहरूको हकहितको संरक्षण, बजारको विकास र नीतिगत पैरवी हुनुपर्छ। भावी नेतृत्वले संघको विधान, उद्देश्य र व्यावसायिक समस्याहरूलाई गम्भीरतापूर्वक आत्मसात् गर्न सक्नुपर्छ।
निर्वाचन केही दिनको हुन्छ र नेतृत्वको कार्यकाल केही वर्षको हुन्छ, तर संस्था भने पुस्तौँसम्म रहन्छ। तसर्थ, अत्तरियाका व्यवसायीहरूले यसपटक व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पारदर्शिता, इमानदारी र संस्थालाई पुस्तौँसम्म बचाउन सक्ने क्षमता भएको नेतृत्व चयन गर्नुपर्ने बेला आएको छ। संघलाई केवल पदाधिकारीहरूको पद बाँड्ने थलो होइन, व्यवसायीहरूको दरिलो आडभरोसाका रूपमा स्थापित गर्नु नै अहिलेको मुख्य आवश्यकता हो।




प्रतिक्रिया दिनुहोस्