काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् ।
विभागको गेटअगाडि एक पुरुषले बिहीबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आगो लगाई आफ्नै ज्यान लिने प्रयास गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार शरीरमा आगो लागेर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
शुरूमा ती व्यक्तिले मोटरसाइकल पार्क गरेको र पछि एक्कासि शरीरमा पेट्रोल खन्याएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।
आत्मदाहको प्रयास गर्ने व्यक्तिको विवरण खुलेको छैन । प्रहरी उपरीक्षक भट्टराईले लोकान्तरसँग भने,‘किन उहाँले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्नुभयो भन्नेबारे अनुसन्धान भइरहेको छ, अहिले घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ ।’




प्रतिक्रिया दिनुहोस्