धनगढी- कैलालीको टीकापुर प्रादेशिक अस्पतालका ल्याब इन्चार्जमाथि अस्पतालभित्रै कुटपिट गरेको आरोपमा करार सेवामा कार्यरत फिजियोथेरापिस्ट अनिल तिवारी पक्राउ परेका छन्।
फिजियोथेरापिस्ट तिवारीले ल्याब इन्चार्ज उमेश बजगाईँमाथि कार्यकक्षमै पुगेर मुक्का प्रहार गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
आफूमाथि दुर्व्यवहार र कुटपिट गर्ने तिवारीलाई कानुनी कारबाही गर्न माग गर्दै बजगाईँले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर रेमकुमार राईलाई निवेदन दिएका थिए। सोही उजुरीका आधारमा अस्पताल प्रशासनले इलाका प्रहरी कार्यालय टीकापुरमा कारबाहीका लागि पत्र पठाएपछि प्रहरीले तिवारीलाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको छ।
अस्पताल स्रोतका अनुसार मधेश प्रदेश घर भएका तिवारी राजनीतिक पहुँचका आधारमा लामो समयदेखि अस्पतालभित्र हाबी हुँदै आएका थिए। वि.सं. २०७२ सालतिर नेपाली कांग्रेसका नेता रतन खड्का अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हँदा तिवारीलाई ज्यालादारीका रूपमा थेरापी विभागमा राखिएको थियो। पछि वि.सं. २०७६ सालतिर मात्र उनी करार सेवामा नियुक्त भएका थिए। त्यसयता राजनीतिक संरक्षणकै बलमा उनले अस्पतालका अन्य कर्मचारी र प्रशासनमाथि आफ्नो हैकम चलाउने गरेको गुनासो अस्पतालका कर्मचारीहरुले गरेका छन्।
के हो विवाद?
तिवारी र बजागाईँबीचको विवादको मुख्य जड अस्पतालले केही दिनअघि गरेको ल्याब सम्बन्धी सामान खरिद प्रक्रियासँग जोडिएको छ। उक्त खरिदमा ल्याब इन्चार्ज बजगाईँसहितका कर्मचारीहरूले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै तिवारीले मेसु डा. राईसमक्ष लिखित उजुरी दिएका थिए। सोही विषयलाई लिएर सोमबार दिउँसो फिजियोथेरापिस्ट तिवारीकै कार्यकक्षमा मेसुको उपस्थितिमा छलफल चलिरहेको थियो। छलफलका क्रममा तिवारीले सुरुमै ल्याब इन्चार्ज बजगाईँ र मेसु राईमाथि अपमानजनक शब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेपछि बजगाईँ बिनाकारण निहुँ नखोज्न भन्दै आफ्नो कार्यकक्षतर्फ फर्किएका थिए।
आफ्नो कार्यकक्षबाट निस्किएर जाँदै गरेका बजगाईँलाई तिवारीले मेसुकै अगाडि करिडोर र कार्यकक्षमा कुटपिट गरेको पीडित पक्षको भनाइ छ।
विवादको ठोस विषय प्रशासनले स्पष्ट नपारे पनि तिवारीले मेसुकै अगाडि गालीगलौज र दुर्व्यवहार गरेपछि आफू त्यहाँबाट निस्किएको र तिवारीले कार्यकक्षमै आएर आफूमाथि हातपात गरेको बजगाईँले बताएका छन्।
सरकारी अस्पतालभित्रै कर्मचारीहरूबीच यसरी कुटपिट भएपछि अस्पताल व्यवस्थापन समितिले घटनाको सत्यतथ्य छानबिन गर्न एउटा छुट्टै समिति समेत गठन गरेको छ।
इलाका प्रहरी कार्यालयले भने आरोपी तिवारीलाई हिरासतमा राखेर कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्