धनगढी। धनगढी उपमहानगरपालिका–१७ को धुर्जन्ना क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अस्थायी प्रहरी चौकी स्थापना गर्ने पहल सुरु भएको छ। हालै भएको १० वर्षीय बालक तनुज चौधरीको हत्या घटनापछि स्थानीय बासिन्दाले स्थायी सुरक्षा व्यवस्थाको माग तीव्र बनाएका हुन्।
धनगढी बजारबाट करिब १८–२० किलोमिटर पूर्वमा रहेको धुर्जन्ना क्षेत्र गोदावरी नगरपालिका–९ र गौरीगंगा नगरपालिका–६ सँग जोडिएको छ। स्थानीयका अनुसार यस क्षेत्रमा प्रहरीको स्थायी उपस्थिति नहुँदा चोरी, लुटपाट, लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधिको जोखिम बढ्दै गएको छ।
गत असार १२ गते सुनको मुन्द्रा लुट्ने उद्देश्यले १० वर्षीय तनुज चौधरीको हत्या भएपछि स्थानीयवासी थप त्रसित बनेका छन्। कुनै आपराधिक घटना हुँदा प्रहरी घटनास्थल पुग्न समय लाग्ने भएकाले नागरिकले आफूलाई असुरक्षित महसुस गरिरहेको उनीहरूको भनाइ छ।
स्थानीय पुष्पराज रानाले अस्थायी प्रहरी चौकी स्थापना भए सुरक्षा प्रणाली प्रभावकारी हुने, अपराध नियन्त्रणमा सहयोग पुग्ने र सर्वसाधारणमा सुरक्षा अनुभूति बढ्ने विश्वास व्यक्त गरे। उनका अनुसार तनुजको हत्या घटनाले सम्पूर्ण बस्तीलाई मानसिक रूपमा प्रभावित बनाएको छ।
स्थानीयको मागलाई आधार बनाउँदै वडा नम्बर १७ कार्यालयले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्थायी प्रहरी चौकी स्थापना गर्न औपचारिक सिफारिस गरिसकेको छ।
वडा अध्यक्ष माधव रानाका अनुसार स्थानीयको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै प्रहरी चौकी स्थापनाको प्रक्रिया अघि बढाइएको हो। सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि उपयुक्त स्थान छनोट गरी प्रहरी चौकी सञ्चालनमा ल्याइने उनले बताए।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीले पनि स्थानीयको सुरक्षा अवस्थालाई गम्भीर रूपमा लिँदै आवश्यक प्रक्रिया अघि बढिरहेको जनाएको छ। प्रहरीको नियमित उपस्थितिले अपराध नियन्त्रणसँगै नागरिकमा सुरक्षाको विश्वास बढ्ने अपेक्षा स्थानीयले गरेका छन्।




प्रतिक्रिया दिनुहोस्