काठमाडौं – देशभर मौसम बदली भइरहँदा सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिमसहितका विभिन्न प्रदेशमा आज भारी वर्षा हुने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भारी वर्षाका कारण उक्त क्षेत्रमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेकाले स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
त्यस्तै, प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने र हावाहुरी चल्न सक्ने सम्भावना पनि उत्तिकै रहेको छ। विभागले रातिको समयमा पनि तराईका भू-भागमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई सचेत गराएको छ।
नदी-नाला आसपास, पहिरोको जोखिमयुक्त क्षेत्र र डुबान हुन सक्ने स्थानमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन विभागको आग्रह छ।




प्रतिक्रिया दिनुहोस्