धनगढी । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको कैलालीको टीकापुर अस्पतालमा दुई कर्मचारीबिच कार्यकक्षमै कुटाकुट भएको छ ।
अस्पतालका प्रयोगशाला ल्याब इन्चार्ज उमेश बजगाईं र फिजियोथेरापिष्ट अनिल तिवारीबिच भएको उक्त झडपको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।
घटना मङ्गलबार दिउँसो करिब २ बजेको हो । अस्पतालका अनुसार ल्याब इन्चार्ज बजगाईं कामको सिलसिलामा प्रशासनतर्फ जाँदै गर्दा फिजियोथेरापिष्ट तिवारीले उनीमाथि एक्कासी आक्रमण गरेका थिए ।
सार्वजनिक भएको सीसीटीभी फुटेजमा तिवारी दौडिँदै आएर बजगाईंलाई मुक्का प्रहार गरेको देखिन्छ । लगत्तै बजगाईंले पनि प्रतिकार गर्दै खुट्टाले प्रहार गरेका छन् ।
बजगाईंले आफूमाथि विनाकारण कुटपिट भएको दाबी गरेका छन् । उनले तिवारीले बिदाको दिन पनि प्रयोगशाला चलाएको देखाएर भत्ता खाने गरेको र महँगोमा रिएजेन्ट खरिद गर्ने जस्ता अनियमिततामा संलग्न रहेको आरोप समेत लगाएका छन् ।
यता कुटपिटको आरोप लागेका तिवारीले भने कार्यालयमा भइरहेको अनियमितताको विषयमा कुरा गर्दा बजगाईंले गालीगलौज गरेको बताए।
अस्पताल प्रशासनले कार्यालय समयमा कर्मचारीबिच हातपात हुनु निन्दनीय भएको बताएको छ । प्रशासनका अनुसार कुनै पनि विवाद भए आपसी छलफलबाट समाधान खोज्न सकिनेमा कार्यकक्षमै कुटपिट हुनु गलत हो।
अस्पतालले घटनाको सीसीटीभी फुटेजसहित आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई पत्र पठाइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाबारे प्रहरीमा निवेदन प्राप्त भएको र यसबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। उनले दोषीलाई कानुन अनुसार कारबाही हुने समेत बताए।




प्रतिक्रिया दिनुहोस्