काठमाडौं, असार २४ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवा गम्भीर आर्थिक अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका छन्। विवादित बिचौलिया व्यवसायी दीपक भट्टमाथिको अनुसन्धानका क्रममा उनको वित्तीय जालो खोज्दै जाँदा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवापुत्र जयवीरलाई दोषी किटान गर्दै बयानका लागि बोलाएको हो।
विभागले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै ३१ वर्षीय जयवीरलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ अनुसार बाटोको म्यादबाहेक ७ दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी–ब्लकमा रहेको विभागको कार्यालयमा अनिवार्य उपस्थित हुन कडा आदेश दिएको छ। तोकिएको अवधिमा उपस्थित नभए सम्पत्ति रोक्कासहित प्रचलित कानुनअनुसार थप कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत विभागले दिएको छ।
दुई वर्षको अवधिमा अढाई करोडको गुप्त कारोबार, कम्पनीमै लगानी!
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार व्यवसायी भट्ट र जयवीरबीच प्रत्यक्ष वित्तीय कारोबारका गम्भीर प्रमाणहरू फेला परेका छन्:
कम्पनीहरूबीच वित्तीय लेनदेन: जयवीर र भट्टका कम्पनीहरूबीच विगत डेढदेखि दुई वर्षको अवधिमा अढाई करोड रुपैयाँभन्दा बढीको शंकास्पद वित्तीय लेनदेन भएको देखिएको छ।
बिचौलियाको लगानी: अझ गम्भीर कुरा त, देउवापुत्र जयवीरको कम्पनीमा विवादित बिचौलिया दीपक भट्ट आफैँले ठूलो लगानी गरेको विवरण समेत अनुसन्धानमा फेला परेको छ।
साला भूषण राणा पनि घेरामा, अनुसन्धान तीव्र!
अनुसन्धान अधिकारीहरूका अनुसार छानबिन अझै जारी रहेकाले थप तथ्य र प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको छ। यो अनुसन्धान जयवीरमा मात्रै सीमित रहने छैन; यही वित्तीय जालोको सुराक पछ्याउँदै जाँदा शेरबहादुर देउवाका साला भूषण राणाको पनि बिचौलिया भट्टसँग शंकास्पद वित्तीय कारोबार र सम्बन्ध रहेको विषय अनुसन्धानको दायरामा आएको छ।
हालैको राजनीतिक फेरबदल र तीव्र अनुसन्धानका बीच देउवा परिवारका सदस्यहरू मुलुक बाहिर रहेको आशंका गरिएको छ। यदि जयवीर तोकिएको म्यादभित्र पुल्चोकस्थित कार्यालयमा हाजिर नभएमा विभागले उनलाई फरार सूचीमा राखेर कडा कानुनी डन्डा चलाउने तयारी गरेको छ।




प्रतिक्रिया दिनुहोस्