काठमाडौं । विश्व फुटबलका दुई महान् खेलाडी लियोनेल मेस्सी र मोहम्मद सलाह विश्वकपको अन्तिम १६ मा आमनेसामने हुँदैछन् ।
अर्जेन्टिना र इजिप्टबीच हुने यो खेल केवल क्वार्टरफाइनल प्रवेशको प्रतिस्पर्धा मात्र होइन, आफ्नो–आफ्नो देशका दुई राष्ट्रिय प्रतीकबीचको ऐतिहासिक भिडन्त पनि हो ।
३९ वर्षीय मेस्सी र ३४ वर्षीय सलाह दुवै आफ्नो करियरको अन्तिम चरणमा छन् । मेस्सीले यो नै आफ्नो अन्तिम विश्वकप हुने संकेत दिइसकेका छन् भने सलाह अझै सन् २०३० को विश्वकप खेल्ने आशामा छन् ।
विश्वकपको इतिहासमा मेस्सीको यात्रा अनुपम छ । उनी विश्वकप विजेता हुन् । विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी पनि उनी नै हुन् । यसपटकको विश्वकपमा पनि उनी संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको सूचीमा छन् ।
तर, सलाहको कथा फरक छ । इजिप्टका लागि तेस्रो विश्वकप खेलिरहेका उनी पहिलो पटक नकआउट चरणमा पुगेका छन् । इजिप्ट पनि आफ्नो इतिहासमा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।
सलाहको अन्तर्राष्ट्रिय करियरमा निराशाका क्षण पनि कम छैनन् । इजिप्टले सन् २०१७ र २०२१ को अफ्रिका कप अफ नेसन्सको फाइनल गुमाएको थियो । त्यस्तै, इजिप्ट फुटबल संघसँग इमेज अधिकार, यात्रा व्यवस्थापन र टोली सञ्चालनका विषयमा उनका सार्वजनिक विवाद पनि चर्चामा रहे ।
तर, अष्ट्रेलियाविरुद्ध पेनाल्टी सुटआउटमा उनले गरेको ‘पानेन्का’ शैलीको पेनाल्टीले इजिप्टलाई पहिलो पटक अन्तिम १६ मा पुर्याएको थियो । अब अर्जेन्टिनाविरुद्धको खेललाई उनी आफ्नो विश्वकप करियरकै सबैभन्दा ठूलो क्षण बनाउन चाहन्छन् ।
अर्जेन्टिनामा मेस्सीपछि के हुन्छ ?
अर्जेन्टिनामा अहिले सबैभन्दा धेरै सुनिने शब्द हो— ‘बिकाम्पियोनातो’, अर्थात् लगातार दोस्रो विश्वकप जित्ने सपना । तर त्यसभन्दा ठूलो एउटा प्रश्न पनि छ, जसलाई धेरैले खुलेर भन्न चाहँदैनन्— ‘मेस्सीले सन्यास लिएपछि अर्जेन्टिनाको अवस्था के हुन्छ?’
विश्वकपको प्रत्येक खेल अर्जेन्टिनालाई अर्को उपाधिनजिक पुर्याइरहेको छ । तर हरेक खेलसँगै अर्जेन्टिनाले आफ्नो सबैभन्दा महान् फुटबल नायकसँग बिताउने समय पनि घट्दै गएको छ ।
यस विश्वकपमा मेस्सीले सात गोल गरेका छन् । उनले लगातार आठ विश्वकप खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् भने छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीसमेत बनेका छन् । ३९ वर्षको उमेरमा पनि उनी २५ वर्षका खेलाडीजस्तै प्रदर्शन गरिरहेका छन् ।
कतारमा सन् २०२२ को विश्वकप र त्यसपछि दुई पटक कोपा अमेरिका जिताएका मेस्सी अहिले अर्जेन्टिनाको जर्सीमा आफ्नो अन्तिम नृत्य गरिरहेका छन् भन्ने भावना धेरै समर्थकमा छ ।
यस विश्वकपमा अर्जेन्टिना फेरि मेस्सीमै अत्यधिक निर्भर भएको भन्दै केही खेल विश्लेषकले आलोचना गरेका छन् । प्रशिक्षक लियोनेल स्कालोनीको सबैभन्दा ठूलो उपलब्धि भनेकै मेस्सीलाई मात्र भर नपरी सन्तुलित टोली निर्माण गर्नु मानिएको थियो ।
तर अहिले अर्जेन्टिनाले गरेको ११ गोलमध्ये सात गोल मेस्सीले गरेका छन् । स्ट्राइकर लाउटारो मार्टिनेज र जुलियन अल्भारेज बढी मेस्सीका लागि अवसर सिर्जना गर्ने भूमिकामा देखिएका छन् भने मिडफिल्डर एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टर आक्रमणभन्दा रक्षामा बढी केन्द्रित देखिएका छन् ।
अर्जेन्टिनी समर्थकहरू भन्छन्, “प्रिय व्यक्तिलाई गुमाउने समय जति नजिक आउँछ, हामी उसलाई त्यति नै धेरै चाहन थाल्छौं ।” मेस्सीको हकमा पनि अहिले त्यही भावना झल्किएको छ ।
‘सलाह केवल फुटबलर होइनन्, इजिप्टको गौरव हुन्’
इजिप्टका समर्थक मोहम्मद मिटकिसका लागि सलाह फुटबल खेलाडीभन्दा धेरै ठूलो व्यक्तित्व हुन् । उनका अनुसार सलाह इजिप्टको गौरव, खुसी र प्रेरणाका स्रोत हुन् ।
“नाग्रिगको एउटा सानो गाउँबाट विश्व फुटबलको शिखरसम्म पुगेको उनको यात्रा हरेक इजिप्टेलीका लागि गर्वको विषय हो । उनले कडा मेहनत र आत्मविश्वास भए असम्भव केही हुँदैन भन्ने सन्देश दिएका छन्,” मिटकिसले भने । उनका अनुसार सलाहको सबैभन्दा ठूलो विशेषता उनको विनम्रता हो ।
“उनी जतिसुकै ठूलो स्टार बने पनि आफ्नो जरा बिर्सँदैनन् । सधैं इजिप्टको प्रतिनिधित्व गरिरहेका हुन्छन् । यही कारण हामी उनलाई झन् धेरै सम्मान गर्छौं,” उनले भने ।
अष्ट्रेलियाविरुद्धको पेनाल्टी सुटआउट जित्दा सम्पूर्ण इजिप्ट एकसाथ उत्सवमा डुबेको स्मरण गर्दै उनले भने, “त्यो जितमा सलाह केन्द्रमा थिए । उनले टोलीलाई नेतृत्व दिए, आत्मविश्वास जगाए र सम्पूर्ण देशलाई एकताबद्ध बनाए ।”
मिटकिसका अनुसार सलाह केवल फुटबल स्टार होइनन्, हरेक इजिप्टेलीका लागि राष्ट्रिय गौरवको प्रतीक हुन् ।
अब मंगलबारको खेलमा मेस्सीले आफ्नो अन्तिम विश्वकप यात्रालाई अर्को चरणमा पुर्याउने प्रयास गर्नेछन् भने सलाह इजिप्टलाई पहिलो पटक विश्वकप क्वार्टरफाइनलमा पुर्याएर नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछन् ।




प्रतिक्रिया दिनुहोस्