कैलाली — नेपाल–भारत सीमा नाका गौरीफन्टामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। सीमा हुँदै हुने अवैध गतिविधि नियन्त्रण र शान्ति–सुरक्षा सुदृढ पार्ने उद्देश्यले नेपाल प्रहरीले स्निफर डग (तालिमप्राप्त कुकुर) सहित सघन सुरक्षा जाँच सञ्चालन गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार नेपाल प्रवेश गर्ने तथा भारततर्फ जाने यात्रु, सवारीसाधन र उनीहरूले बोकेका सामानको सूक्ष्म रूपमा परीक्षण भइरहेको छ। लागूऔषध, विस्फोटक पदार्थ, अवैध सामग्री तथा अन्य शंकास्पद वस्तु पहिचान गर्न स्निफर डगसमेत परिचालन गरिएको उनले बताए।
प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएकाले यात्रुलाई आवश्यक परिचयपत्र साथमा राख्न र सुरक्षा जाँचमा सहयोग गर्न अनुरोध गरेको छ।
सीमा नाकाको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सम्बन्धित निकायबीच समन्वय गरेर निगरानीसमेत बढाइएको छ।
प्रहरीका अनुसार सीमा क्षेत्रबाट हुने गैरकानुनी गतिविधि रोक्न यस्ता सुरक्षा अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।




प्रतिक्रिया दिनुहोस्