२१ असार, काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् ।
वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको संयोजक दाहालको भनाइ छ ।
‘यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ । खबरदार, तपाईंहामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ,’ उनले भने ।
उनले सरकारले सुकुमवासी बस्ती हटाउने, विद्यार्थी युनियनहरू खारेज गर्ने, ट्रेड युनियन अधिकारहरू खोस्ने, देशको सीमानाको विषयमा जथाभावी बोल्ने काम गरेपछि आफूले एक पटक संसदमा बोलेको र अब सरकारबारे बोल्ने धेरै विषयवस्तुहरू भएकाले आफूले संसदमा पनि धेरै विषयहरू बोल्ने पनि बताए ।
‘जुर्मुराउनका लागि मैले अघि भनेजस्तो गल्ती कहाँ भयो भन्दा हामीले वर्ग संघर्ष, विचार र रणनीतिलाई बेवास्ता गर्यौं । र, कार्यनीति दिनदिनकोमा रमायौं । र हामी बिग्रियौं । त्यसको मुख्य जिम्मेवारी मैले लिनुपर्छ,’ प्रचण्डले भने, ‘मैले अरूलाई भनेर सुख पाउँदिन । किनभने ३ चोटी प्रधानमन्त्री म आफैँ भइसकेको छु । अरुलाई केही भनिन । त्यही भएर हैरान भएर मैले सबै मिलेर मलाई छिटो हटाई दिनुस् न भन्न पनि आउँछ कोही बेला ।’
अध्यक्ष दाहालले आफूहरूले विगतमा वर्ग संघर्ष, विचार र रणनीतिलाई भुल्ने गम्भिर गल्ती गरेको स्वीकार गर्दै त्यस भूलबाट शिक्षा लिएर अघि बढ्ने पनि बताए ।




प्रतिक्रिया दिनुहोस्