काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अस्ट्रेलिया भ्रमणको केही दिन अघि मात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत उनलाई ज्यान मार्ने धम्की दिइएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। प्रधानमन्त्री मोदीको सुरक्षालाई लिएर गम्भीर चिन्ता उत्पन्न भएपछि अस्ट्रेलियाली सुरक्षा निकाय र सङ्घीय प्रहरीले यस विषयमा व्यापक अनुसन्धान सुरु गरेका छन्।
‘द अस्ट्रेलिया टुडे’ को रिपोर्टअनुसार आगामी जुलाई ९ मा मेलबर्नस्थित मार्भल स्टेडियममा आयोजना हुन लागेको ‘मेलबर्न मिट्स मोदी’ नामक बृहत् नेपाली तथा भारतीय समुदायको सार्वजनिक कार्यक्रमको प्रचार प्रसारका लागि फेसबुकमा गरिएको एउटा पोस्टको कमेन्ट सेक्सनमा उक्त धम्कीपूर्ण सन्देश राखिएको थियो।
‘अबु मुस्तफा’ नामको फेसबुक अकाउन्टबाट लेखिएको उक्त कमेन्टमा भनिएको छ, “कार्यक्रमको समयमा स्टेडियमको छत बन्द राख्नु राम्रो हुन्छ, नत्र उनी (मोदी) आफ्नो मृत्युका लागि अस्ट्रेलिया आउँदैछन्।”
यस गम्भीर धम्की लगत्तै अस्ट्रेलियाका उच्च सुरक्षा एजेन्सीहरू सतर्क भएका छन्। सुरक्षा स्रोतका अनुसार अनुसन्धान अधिकारीहरूले उक्त धम्कीपूर्ण पोस्ट गर्ने अकाउन्टको आईपी एड्रेस ट्र्याक गरिसकेका छन् र यस कार्यमा संलग्न आपराधिक गिरोह वा व्यक्तिको खोजी भइरहेको छ।
अस्ट्रेलियाली सङ्घीय प्रहरीका प्रवक्ताले विदेशी सरकार प्रमुखमाथि आउने यस्ता धम्कीलाई अत्यन्तै गम्भीरताका साथ लिइने र सुरक्षा व्यवस्थाको कडा समीक्षा भइरहेको बताएका छन्। हालसम्म यस मामिलामा कसैलाई पक्राउ भने गरिएको छैन।
प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजको निमन्त्रणामा ‘अस्ट्रेलिया-इन्डिया वार्षिक नेताहरूको शिखर सम्मेलन’ मा भाग लिन जुलाई ८ देखि १० सम्म तीन दिने औपचारिक भ्रमणमा अस्ट्रेलिया जाँदैछन्।
भ्रमणका क्रममा दुई देशबीचको रणनीतिक साझेदारी, व्यापार र रक्षा क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुने कार्यतालिका छ। यो धम्की सार्वजनिक भएपछि मेलबर्न र सिड्नी लगायतका क्षेत्रमा प्रधानमन्त्री मोदीका कार्यक्रमहरू हुने स्थानको सुरक्षा व्यवस्थालाई अभूतपूर्व रूपमा कडा पारिएको छ र बहु-सुरक्षा एजेन्सीहरूलाई उच्च सतर्कतामा राखिएको छ।




प्रतिक्रिया दिनुहोस्