काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सवारीसाधनमा प्रयोग भइरहेको कालो सिसा (ब्ल्याक फिल्म) हटाउने विषयमा विस्तृत छलफल भएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेसँग भेट गरी सवारीसाधनमा कालो सिसा हटाउने कार्यान्वयन प्रक्रियाबारे छलफल गरेको हो।
छलफलमा ट्राफिक प्रहरी प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि कालो सिसा भएका सवारीसाधनहरू आपराधिक गतिविधिमा प्रयोग हुने जोखिम बढ्ने भएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कालो सिसा हटाउने अभियान अघि बढाइएको जानकारी दिए। उनले सवारीसाधनको अगाडिको सिसामा कुनै पनि प्रकारको स्टिकर वा फिल्म प्रयोग गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै आयातकर्ताहरूले उपभोक्तालाई यसबारे स्पष्ट जानकारी दिनुपर्ने बताए।
उनले कालो सिसा प्रयोग गर्न चाहने सवारीसाधनका लागि सरकारले अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था रहेको पनि स्पष्ट पारे।
नाडा अध्यक्ष उप्रेतीले भने बजारमा प्रयोग भइरहेको कालो स्टिकर हटाउने कार्य प्राविधिक रूपमा सहज भएकाले पहिले त्यही प्रक्रियामा जानु उपयुक्त हुने सुझाव दिए। त्यस्तै, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले कारखानाबाटै कालो सिसा जडान भएर आउने सवारीसाधनको संख्या सीमित भएकाले त्यसको पनि यकिन गरेर समाधान निकाल्न सकिने बताए।
छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायत पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। ट्राफिक प्रहरीले यस विषयमा थप कार्यान्वयनका लागि नाडालाई औपचारिक रूपमा लिखित अनुरोध गरेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्