बझाङको बाँठपाली मन्दिर निर्माणमा २२ लाख रुपैयाँ भ्रष्टाचार, उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणमा २२ लाखभन्दा बढी रकम अनियमितता भएको निष्कर्ष निकाल्दै तत्कालीन जनप्रतिनिधि, कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारीसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नयाँ पर्यटन गन्तव्यको विकास गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उक्त आयोजना दुर्गाथली गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो।

अनुसन्धानका क्रममा मन्दिर निर्माणमा वास्तविकभन्दा बढी काम भएको देखाइएको, अस्वाभाविक दररेट कायम गरिएको, सम्झौताअनुसारको जनसहभागिता रकमसमेत कम कट्टा गरिएको तथा झुट्टा बिल–भरपाईका आधारमा २२ लाख १ हजार ६६५ रुपैयाँ बढी भुक्तानी गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, इन्जिनियर हिक्मत रावल र सब–इन्जिनियर बमबहादुर बोहरा विरुद्ध २२ लाख १ हजार ६६५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको छ। उनीहरूविरुद्ध झुट्टा प्रतिवेदन दिएको आरोपसमेत लगाइएको छ।

यस्तै, तत्कालीन गाउँपालिका उपाध्यक्ष राधिका कुमारी रताला र वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष मोहनलाल विक विरुद्ध झुट्टा प्रतिवेदन तथा तथ्य लुकाएको अभियोगमा भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको मागदाबी गरिएको छ।

त्यसैगरी श्री बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढा विरुद्ध मुख्य कसुरदारलाई सहयोग गरेको (मतियार) अभियोगमा मुख्य कसुरदारसरह सजायको माग गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार