काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बन्न नदिएको आरोप लगाएका छन् । आइतबार (असार १४) प्रतिनिधिसभा बैठकमा उनले उक्त अस्पताल बनाउन सर्वोच्च अदालतले आदेश दिए पनि प्रदेश र स्थानीय सरकार कांग्रेसको भएकाले अवरोध गरिरहेको जिकिर गरे ।
उक्त अस्पताल बन्न नदिन आफ्नै पार्टीको प्रदेश र स्थानीय सरकारले अवरोध गर्दा पनि कांग्रेसले त्यसमा कुनै पहल नगरेको भन्दै उनले आपत्ति जनाए । संघीय संसद्मा आदर्शका कुरा गर्ने कांग्रेस सांसदले आफ्नै पार्टीको सरकारले प्रदेश र स्थानीय तहमा जनताको काम नगरेको विषय नउठाएको गुनासो पनि उनले गरे ।
सांसद केपी खनालको भनाइ पढ्नोस्–
लम्कीचुहा अस्पतालका कर्मचारीलाई त्यहाँको स्थानीय सरकारले गालीगलौज गरेको दृश्य सामाजिक सञ्जालमा आइरहँदा त्यहाँ गालीबेइज्जत भइरहन्छ, आइरहन्छ । तर, यो सञ्चालनका लागि प्रतिपक्ष बेन्चमा बसेको नेपाली कांग्रेसमाथि ध्यानाकर्षण गराउन चाहन्छु, सभामुख महोदय । यहाँ सदनमा तपाईंहरू पटक–पटक सरकारले यो गरेन, त्यो गरेन, आफूहरू बेन्चमाथि उठनुहुन्छ, तर तपाईंकै स्थानीय तहको बनेको सरकार र प्रदेश सरकारले लम्कीचुहा अस्पतालमाथि गरेको अन्यायलाई तपाईंहरूले कहिले सदनमा बोल्नुहुन्छ ? तपाईंहरू सधैँ सरकारले यो गरेन, ऊ गरेन भन्नुहुन्छ । तपाईंहरूको पार्टीले बनाएको स्थानीय सरकारले काम गर्ने कर्मचारीमाथि गालीगलौज गर्दा कहाँ छ नेपाली कांग्रेस ? म यहाँबाट खोज्न चाहन्छु । एउटा काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन । प्रादेशिक अस्पताल बनाउनुपर्छ भनिरहेको छ, तर बनिरहेको छैन । अनि, यहाँचाहिँ उहाँहरू आदर्शको कुरा गर्नुहुन्छ । म यहाँबाट नेपाली कांग्रेस खोज्न चाहन्छु, कांग्रेस कहाँ छ ? त्यहाँका शिक्षा, स्वास्थ्य, खेलकुदलगायत अन्य क्षेत्रका कर्मचारीहरू पनि कांग्रेसबाट पीडित छन् । त्यहाँको स्थानीय सरकारबाट पीडित छन् ।




प्रतिक्रिया दिनुहोस्