धनगढी — डोटीको दिपायल सिलगढी नगरपालिका–२ स्थित सेती नदीको बीचभागमा फसेका ११ जनाको शनिबार सकुशल उद्धार गरिएको छ। अस्थायी बाँध अचानक फुटेपछि पानीको बहाव बढ्दा उनीहरू नदीको बीचमै फसेका थिए।
स्थानीयहरू शिव मन्दिरमा पूजा गर्न पुगेका बेला घटना भएको हो। बाँध फुटेपछि नदीमा पानीको सतह बढेपछि उनीहरू सुरक्षित रूपमा बाहिर निस्कन नसकेका थिए।
उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण डोटीको टोली, इलाका प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो। रबर बोटको सहायताले जोखिमपूर्ण अवस्थामा उनीहरूको उद्धार गरिएको सशस्त्र प्रहरी उपरीक्षक शिवप्रसाद गैह्रेले जानकारी दिए।
उद्धार गरिएकामध्ये ८६ वर्षीय मोहन पाठक, ७६ वर्षीय प्रेमबहादुर कठायत, ७० वर्षीय शिवराज कठायत, ६९ वर्षीय बालुराम कठायत, ७४ वर्षीय हेमराज जोशी, ६५ वर्षीय बाटु कठायत, ८० वर्षीय पदमराज भट्ट, ६० वर्षीया संजा श्रेष्ठ, ३८ वर्षीय दीपकराज पाठक, ९ वर्षीय कृष्ण कठायत र ६ वर्षीय ब्रण्डन कठायत रहेका छन्।
प्रहरीका अनुसार सबै जनालाई सुरक्षित रूपमा किनारमा ल्याइएको छ र अवस्था सामान्य रहेको छ।




प्रतिक्रिया दिनुहोस्