कञ्चनपुर — लामो समयदेखि वर्षा नहुनु र अत्यधिक गर्मी बढ्दै जाँदा कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको संकट चुलिएको छ। भू–जलको सतह निरन्तर घट्दै गएपछि ह्यान्डपम्प, बोरिङ र प्राकृतिक मुहान सुक्न थालेका छन्, जसका कारण स्थानीयवासी दैनिक उपभोगका लागि पानी जुटाउन कठिनाइ भोगिरहेका छन्।
वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकाअन्तर्गत चुरे आसपासका दर्जनौँ बस्तीमा पानीको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको स्थानीयले बताएका छन्। वेदकोट नगरपालिका–४ का राजुराम भुलका अनुसार केही महिनाअघिसम्म सहज रूपमा पानी दिने ह्यान्डपम्प र बोरिङ अहिले सुक्न थालेका छन् भने कतिपयमा निकै कम मात्र पानी आउँछ।
उनले चुरे क्षेत्रबाट बग्ने खोला, नदी तथा साना मुहानको पानीसमेत घट्दै गएको बताए। यसले खानेपानीको जोहो गर्न मात्र होइन, पशुचौपायालाई पानी खुवाउन र सरसफाइ कायम राख्न पनि समस्या भएको उनको भनाइ छ। विद्युत् आपूर्ति अनियमित हुँदा सिँचाइका लागि प्रयोग हुने विद्युतीय मोटर प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको गुनासो पनि उनले गरे।
शुक्लाफाँटा नगरपालिका–८ धारापानीका साइमले धामीका अनुसार त्यहाँका अधिकांश बस्ती खोलाको पानीमा निर्भर छन्। तर खोलामा पानीको बहाव उल्लेखनीय रूपमा घटेपछि केही दिनमै स्रोत सुक्ने चिन्ता बढेको छ। यदि छिट्टै वर्षा नभए खानेपानीका लागि टाढाटाढासम्म पुग्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।
पानी अभावको असर कृषि क्षेत्रमा पनि स्पष्ट देखिएको छ। धान रोप्ने मुख्य समयमा पर्याप्त वर्षा नहुँदा किसान चिन्तित बनेका छन्। शुक्लाफाँटा–३ का किसान प्रकाश चौधरीका अनुसार बोरिङको पानीको सतह घट्दै जाँदा रोपिएको धान सुक्न थालेको छ भने रोपाइँ हुन बाँकी खेतका बेर्ना पनि नष्ट हुने जोखिममा छन्। धेरै खेतमा सिँचाइ अभावका कारण चिरा पर्न थालेको उनले बताए।
वातावरणविद् पुनाराम चौधरीले चुरे क्षेत्रमा पानीका स्रोत वर्षेनि घट्दै जानु, वन विनाश, जलवायु परिवर्तन, अनियमित वर्षा र बढ्दो तापक्रमका कारण समस्या झन् गम्भीर बन्दै गएको बताए। उनका अनुसार वर्षायाम सुरु भइसके पनि पर्याप्त वर्षा नहुँदा भू–जल पुनःभरण हुन सकेको छैन।
खानेपानी संकटका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बिरामी र अपाङ्गता भएका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित हुने अवस्था देखिएको छ। स्थानीयले सम्बन्धित निकायसँग तत्काल वैकल्पिक खानेपानी व्यवस्था गर्न माग गरेका छन्।




प्रतिक्रिया दिनुहोस्