काठमाडौँ, असार १२ । भारतले चिया निर्यातमा गरेको कडाइका कारण विगत केही दिनदेखि बन्द रहेका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। सरकारले उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गर्ने आश्वासन दिएपछि असार १ र ४ गतेदेखि बन्द भएका उद्योगहरू फेरि खुल्न थालेका हुन्।
चिया उद्योगीहरूको समस्याप्रति प्रधानमन्त्रीले नै विशेष चासो देखाएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले निर्यातको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने आश्वासन दिएको थियो। प्रधानमन्त्रीको यस कदमपछि समस्या समाधान हुने पूर्ण आशाका साथ उद्योगीहरूले आफ्ना उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको बताएका छन्। सरकारको यो आश्वासनसँगै झापाका ३० वटा सीटीसी चिया उद्योगहरू सुचारु भइसकेका छन्।
उद्योगीहरूका अनुसार भारतको चिया बोर्डले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा नयाँ मापदण्ड अर्थात् ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गरेपछि नेपाली चियाको निर्यात गम्भीर रूपमा प्रभावित बनेको थियो। जसका कारण उद्योगहरू बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको थियो।
नेपाल सरकारले चिया निर्यातमा देखिएको अवरोधलाई हटाउन र उद्योगीका तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन समस्या हल गर्न कार्यदल बनाएर काम अगाडि बढाउने प्रतिबद्धता जनाएपछि चिया क्षेत्रका मजदुर र किसानहरूले ठूलो राहत महसुस गरेका छन्।




प्रतिक्रिया दिनुहोस्