महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले आज शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा छैटौँ दीक्षान्त समारोह आयोजना गर्दैछ। समारोहबाट करिब अढाई हजार विद्यार्थी एकै पटक दीक्षित हुने भएका छन्।
विश्वविद्यालयका अनुसार २ हजार ४ सय ८९ विद्यार्थी दीक्षान्त सूचीमा रहेका छन्। तीमध्ये केन्द्रीय कार्यालय परिसरमा हुने समारोहमा ७ सय ६७ विद्यार्थी मात्रै भौतिक रूपमा सहभागी हुनेछन्।
परीक्षा नियन्त्रण कार्यालयकी परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार विश्वविद्यालयका ६ वटै संकाय—स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहका विद्यार्थी एकै पटक दीक्षित हुन लागेका हुन्।
संकायगत रूपमा मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र कृषि विज्ञान संकायका विद्यार्थीहरू दीक्षान्तमा सहभागी हुनेछन्। सबैभन्दा बढी शिक्षा संकाय र व्यवस्थापन संकायका विद्यार्थी रहेका छन्।
यस अवसरमा चान्सलर पदक, भाइस चान्सलर पदक, स्वर्ण पदक तथा डिन पदक वितरण गरिनेछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार चान्सलर पदक व्यवस्थापन संकायका निशान्त चन्द र भाइस चान्सलर पदक कृषि विज्ञान संकायका कैलाशराज भट्टलाई प्रदान गरिनेछ। तर चान्सलर पदकका लागि छात्रा रेखा भट्टले दायर गरेको रिटका कारण उक्त पदक हालका लागि स्थगित गरिएको छ।
यस वर्ष स्वर्ण पदक ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेम बहादुर रोकाया, दिवाकर पन्त, भरत साउँद, कविता जोशी, रजिन बोहरा र कैलाशराज भट्टले प्राप्त गर्ने भएका छन्। त्यस्तै डिन पदक मथुराप्रसाद उपाध्याय, कैलाशराज भट्ट, आयुसा जोशी र भरत साउँदलाई प्रदान गरिनेछ।
यस पटक पहिलो पटक चार विद्यार्थीले डिन पदक प्राप्त गर्न लागेका छन्।
यसैगरी, विद्यावारिधि (पीएचडी) तर्फ पहिलो महिला छात्राका रूपमा डा. तुलसी कुमारी शर्मा दीक्षित हुने भएकी छन्। यसअघि पुरुषतर्फ विश्व अधिकारीले पीएचडी पूरा गरेका थिए।
दीक्षान्त समारोह विश्वविद्यालयका सहकुलपति तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा हुँदैछ। कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, पूर्वमन्त्री तथा विभिन्न सरोकारवालाको सहभागिता रहनेछ।
विश्वविद्यालयका निर्देशक हरिश भट्टका अनुसार दीक्षान्त समारोह विद्यार्थीहरूको उत्सव भएकाले अभिभावकसहित उत्साहपूर्ण रूपमा मनाइँदैछ। कार्यक्रममा संस्कृतविद् तथा साहित्यकार प्रा. डा. तुलसी प्रसाद जोशी (तुलसी दिवस) प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
१६ वर्षअघि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले यस वर्ष छैटौँ दीक्षान्त समारोह सम्पन्न गर्न लागेको हो।




प्रतिक्रिया दिनुहोस्