कैलालीमा वर्षा नहुँदा राेपेकाे धान सुक्न थाल्याे

कैलालीमा पर्याप्त वर्षा नहुँदा धान खेती प्रभावित हुन थालेको छ। असार लागिसक्दा पनि पानी नपरेपछि रोपाइँ गरिएका खेतमा रोपो सुक्न थालेका छन् भने किसानले सिँचाइका लागि अतिरिक्त खर्च व्यहोर्नुपरेको छ।

किसानहरूले भूमिगत पानीको सहारामा रोपाइँ जारी राखे पनि अत्यधिक गर्मी र लामो सुक्खाका कारण रोपो जोगाउन कठिनाइ भइरहेको बताएका छन्। खेतमा चिस्यान अभाव बढ्दै जाँदा जमिन चर्किन थालेको छ।

भजनी नगरपालिका–५ लालबोझीका कृषक खोजराम चौधरीका अनुसार रोपाइँ गरिएका खेतहरू सेताम्मे देखिन थालेका छन्। “धान रोपिएको खेतमै चिरा पर्न थालेका छन्, पानी नपर्दा रोपो बचाउनै मुस्किल भइरहेको छ,” उनले भने।

जेठको अन्त्यतिरदेखि रोपाइँ थालेका किसानहरू अहिले डिजेलबाट पानी तानेर खेतमा सिँचाइ गर्न बाध्य छन्। यसले उत्पादन लागत उल्लेख्य रूपमा बढाएको उनीहरूको भनाइ छ। धनगढी उपमहानगरपालिका–१० जुगेडाका किसान रामदास रानाले वर्षा अभावले रोपाइँ र सिँचाइ दुवै चुनौतीपूर्ण बनेको बताए।

सुक्खा लम्बिँदै जाँदा भूमिगत जलस्रोतमा समेत असर देखिन थालेको छ। कतिपय स्थानमा बोरिङमा पानीको मात्रा घटेको र केही बोरिङ सुक्न थालेको किसानहरूले बताएका छन्। कृषक प्रदीपकुमार चौधरीका अनुसार बोरिङ सुकेपछि बीचमै रोपाइँ रोक्नुपर्ने अवस्था आएको छ।

यता, मनसुन नेपाल प्रवेश गरिसके पनि यसको प्रभाव कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मनसुन असार ५ गते नेपाल भित्रिएको भए पनि देशभर सक्रिय रूपमा फैलिन अझै केही समय लाग्ने अवस्था छ। सामान्यतया जुन १३ मा मनसुन भित्रिने भए पनि यस वर्ष छ दिन ढिलो गरी प्रवेश गरेको विभागले जनाएको छ।

वर्षा अभावसँगै किसान अर्को समस्याबाट पनि प्रभावित बनेका छन्। धान रोपाइँको मुख्य समयमा समेत आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध नभएको किसानहरूको गुनासो छ। खेतमा बेर्ना तयार भए पनि डिएपी र युरिया मल अभावले धेरै किसान समयमै रोपाइँ गर्न नसकेको बताउँछन्।

कृषि सामग्री कम्पनी लिमिटेडले डिएपी मल प्रतिवोरा दुई हजार ३९४ रुपैयाँ र युरिया प्रतिवोरा ९४४ रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ। सहकारी संस्था र बिक्री केन्द्रमार्फत वितरण भइरहे पनि आपूर्ति प्रक्रिया र कोटा व्यवस्थापनका कारण किसानसम्म मल समयमै नपुगेको गुनासो छ।

कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख नवलसिंह बोगटीले निर्धारित कोटा अनुसार मल वितरण भइरहेको बताए। उनका अनुसार केही सहकारी संस्थाले अझै मल उठाउन बाँकी रहेकाले वितरणमा ढिलाइ भएको हो। हाल कैलालीमा युरिया एक हजार ७५५ मेट्रिक टन, डिएपी २१३ मेट्रिक टन र पोटास २८१ मेट्रिक टन मौज्दात रहेको उनले जानकारी दिए।

कैलालीसहित सुदूरपश्चिम प्रदेशमा धान खेतीका लागि करिब २८ हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्ने अनुमान छ। वर्षा अभाव र मल संकट एकैसाथ देखिएपछि यस वर्षको धान उत्पादनमा असर पर्न सक्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार