धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि नगर बस सेवालाई थप विस्तार गर्ने तयारी गरेको छ। हाल फूलवारी–धनगढी–अत्तरिया रुटमा सञ्चालन भइरहेको नगर बस सेवा अब थप चार नयाँ रुटमा विस्तार गरिने भएको हो।
उपमहानगरपालिकाका अनुसार नगर क्षेत्रका सहरी तथा ग्रामीण बस्तीलाई सहज यातायातमार्फत जोड्दै आर्थिक गतिविधि बढाउने उद्देश्यले नयाँ रुटमा सेवा सञ्चालन गर्न लागिएको हो। यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरिएको जनाइएको छ।
नगर बस सेवा विस्तारअन्तर्गत धनगढी–कनरी–रामपुर–चौमला, धनगढी–पथरी–वनबेहडा, बेली–जुगेडा–घुईँयाघाट–बंगरा कटान तथा धनगढी–घोडसुवा–स्याउले रुटमा बस सञ्चालन गर्ने योजना रहेको छ।
धनगढी उपमहानगरपालिकाले २०८१ भदौदेखि फूलवारी–धनगढी–अत्तरिया रुटमा नगर बस सेवा सुरु गरेको थियो। प्रस्तावित चार नयाँ रुट थपिएपछि नगर बस सेवा सञ्चालन हुने रुटको संख्या पाँच पुग्नेछ।
सेवा विस्तारका लागि उपमहानगरपालिकाले ६ वटा विद्युतीय मिनिबस खरिद प्रक्रिया अघि बढाएको जनाएको छ। नयाँ बस थपिएपछि नगरवासीलाई सहज, सुलभ र वातावरणमैत्री सार्वजनिक यातायात सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्