महेन्द्रनगर। ब्रिष्टन कलेज महेन्द्रनगरद्वारा आयोजित ‘ब्रिष्टन क्रिकेट कप २०२५ सिजन–२’ को उपाधि सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपिए) कलेज, धनगढी ले जितेको छ।
फाइनल खेलमा एसपिएले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस लाई २७ रनले पराजित गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको एसपिएले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रनको योगफल तयार गरेको थियो। एसपिएका शंकर बोहरा ले २५ बलमा ४० रनको उत्कृष्ट पारी खेले भने आशिष लुहार ले ११ बलमा २७ रनको आक्रामक योगदान दिएका थिए।
१४५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो। एसपिएका बलरहरूले कसिलो प्रदर्शन गर्दै विपक्षी टोलीलाई लक्ष्यसम्म पुग्न दिएनन्।
बलिङतर्फ रोहित साउद र विमल कटुवाल ले समान २–२ विकेट लिए भने प्रकाश जोशी र सुबोध तिवारी ले १–१ विकेट हात पारे।
उत्कृष्ट प्रदर्शनका लागि एसपिएका आशिष लुहार फाइनल खेलको म्यान अफ द म्याच घोषित भए। उनले ११ बलमा २७ रनको आक्रामक पारी खेल्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए।
यससँगै एसपिए कलेज धनगढी २७ रनले विजयी हुँदै ब्रिष्टन क्रिकेट कप २०२५ सिजन–२ को च्याम्पियन बन्न सफल भयो। उपाधिसँगै टोलीले रु. १ लाख नगद पुरस्कार तथा ट्रफी समेत प्राप्त गरेको छ।
एसपिएको यो सफलता कलेजको खेलकुद इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा दर्ज भएको छ।








प्रतिक्रिया दिनुहोस्