धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक सुदूरपश्चिम प्रदेश अधिवेशन नजिकिएसँगै चुनावी चहलपहल सुरु भएको छ । यसै क्रममा प्रदेश कमिटी (खुल्ला तर्फ) को सदस्य पदका लागि गणेश शाहीले उम्मेदवारी घोषणा गर्नुभएका छन् ।
“परिवर्तन सम्भव छ हाम्रै पालामा” भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिनुभएका शाहीले “हाम्रो संकल्प, समृद्ध सुदूरपश्चिम” लाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ । सुदूरपश्चिमको समग्र विकासका लागि उहाँले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र उद्यमशीलतालाई प्राथमिकतामा राखेर प्रतिबद्धताहरू सार्वजनिक गर्नुभएका छन् ।
शाहीका प्रमुख चुनावी प्रतिबद्धताहरू यस्ता छन्:
- कृषि क्षेत्र: सुदूरपश्चिमलाई नगदे बालीको हब बनाउने र कफी, अदुवा, बेसार, अलैंची जस्ता उच्च मूल्यका बालीहरूको प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउने उहाँका योजना छन् ।
- शिक्षा र स्वास्थ्य: विद्यालय तहको गुणस्तर सुधार, प्राविधिक शिक्षाको विस्तार, छात्रवृत्ति व्यवस्थापनका साथै स्वास्थ्य चौकीहरूको स्तरोन्नति र ‘स्वस्थ सुदूरपश्चिम’ अभियान सञ्चालन गर्ने विषयलाई उहाँले प्राथमिकतामा राख्नुभएका छन् ।
- रोजगार र पर्यटन: युवा उद्यमशीलता, स्टार्टअप, स्वरोजगार तथा साना उद्योगहरूको प्रवद्र्धन गर्ने योजना शाहीले अघि सार्नुभएका छन् । त्यसैगरी, सांस्कृतिक, धार्मिक र इको-टुरिजमको विकासमा जोड दिँदै होटल तथा हस्पिटालिटी क्षेत्रमा सीपमूलक तालिम र रोजगारीको अवसर सिर्जना गर्ने उहाँको प्रतिबद्धता छ ।
- पूर्वाधार र सुशासन: आधुनिक खेल पूर्वाधार विकास, खेलाडी प्रोत्साहन, जिल्लाका प्राकृतिक सम्पदाको संरक्षण र सुशासन तथा पारदर्शितालाई मुख्य आधार बनाउने शाहीको योजना छ ।
कृषि समृद्धि, शिक्षा उत्कृष्टता र आर्थिक विकासलाई आफ्नो चुनावी रथका मुख्य पाङ्ग्रा बनाउनुभएका शाहीले प्रदेशको विकासका लागि आफू दृढ रहेको बताउनुभएका छन् ।




प्रतिक्रिया दिनुहोस्