बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-११ लालपुरमा शनिबार भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका-५ मोतीपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका कंडेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सशस्त्र प्रहरी बलको फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुरमा कार्यरत थिए ।
सोही दुर्घटनामा बासगढी-८ ककौराका ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार जङ शाह घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको छ ।
यस्तै, ट्रक चालक मकवानपुर बागमती गाउँपालिका-५ समरीका ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते भएको र उनको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।
अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई भैँसी र एक पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडकखण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।




प्रतिक्रिया दिनुहोस्