‘हिजो वैदेशिक ऋणको आलोचना गर्नेहरू सरकारमा पुग्दा नयाँ योजना के ल्याए ?’

काठमाडौँ ।  विपक्षी दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुलुकको अर्थतन्त्र ऋण लिएर ऋण तिर्ने चरम सङ्कटमा फसिरहेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएका छन्। 

सरकारले आफ्नै आन्तरिक राजस्वबाट मुलुक चलाउने के-कस्तो उपाय र भावी योजना खोजिरहेको छ भनी उनले प्रश्न समेत गरेका हुन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सांसद राईले देशलाई परनिर्भरताबाट मुक्त गराउने दिशामा सोच्न सरकारलाई आग्रह गरे। छलफलका क्रममा सांसद राईले आर्थिक सङ्कटको चर्चा मात्र गर्ने तर समाधान नखोज्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। 

हिजोका दिनमा वैदेशिक ऋण बढ्यो भनेर चर्को आलोचना गर्ने र ठुला–ठुला सभा सम्मेलनमा भाषण गर्नेहरू नै अहिले नयाँ शक्तिका रूपमा सरकारमा पुगेको उनले स्मरण गराए। उनले अर्थमन्त्रीलाई लक्षित गर्दै प्रश्न गरे, ‘आज दुःखलाग्दो कुरा, हामी ऋण लिएर ऋण तिरिरहेका छौँ। अब यसका लागि आम नेपाली जनताले के गर्नुपर्ने? देशकै राजस्वबाट देश चलाउनका लागि हामीले के गर्नुपर्ने? हामी सांसदले के गर्नुपर्ने र सिङ्गो देशवासीले के गर्नुपर्ने हो? अर्थमन्त्रीले भनिदिनु पर्‍यो। यसको भावी योजना के छ, अहिलेबाट हामी आफ्नै राजस्वले देश चलाउन सक्छौँ? यस विषयमा गम्भीर हुन पर्दछ।’

बैठकमा बोल्दै सांसद राईले विनियोजन विधेयकमा विभिन्न संवैधानिक आयोगहरूको बजेट घटाइएको भन्दै अर्थमन्त्री वाग्लेप्रति असन्तुष्टि समेत व्यक्त गरे। पुस्तौँदेखि सामाजिक र आर्थिक रूपमा पछाडि पारिएका समुदायलाई माथि उठाउनका लागि आदिवासी जनजाति, मधेसी, मुस्लिम र दलित जस्ता आयोगहरू गठन भएको उनले स्पष्ट पारे। नयाँ सरकार आएपछि ती पिछडिएका वर्गका लागि बजेट बढाउनुपर्नेमा उल्टै घटाउने काम भएको भन्दै उनले आपत्ति जनाए।

बजेट विनियोजनको विषयलाई लिएर विभिन्न आयोगका प्रमुखहरूले अर्थमन्त्रीसँग छलफलका लागि समय माग्दा समेत नपाएको गुनासो आफूले सुनेको सांसद राईले संसद्‌मा खुलाए। 

उनले सामाजिक रूपमा सबै समुदायलाई समान र माथि उठाउनका लागि राज्यले लगानी घटाउने होइन, बरु बढाउनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार