काठमाडौं– दोस्रो हाफमा १४ मिनेटमा दुई गोल फर्काउँदै दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जितसहित फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ ।
मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण कोरियासँग २–१ ले पराजित हुन पुग्यो ।
दक्षिण कोरियाले चेकियाविरुद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो । १२औं पटक विश्वकप खेलिरहेको दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै जित निकालेको यो चौथोपटक हो ।
५९औं मिनेटमा लादिस्लाभ क्रेज्की गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । तर, अग्रता जोगाउन सकेन । त्यसको ८ मिनेटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो । ह्वाङ इनबियोमले ६७औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए ।
खेलको ७७औं मिनेटमा फ्रिकिकमार्फत आएको बललाई हेडरमार्फत चेक रिपब्लिकका थोमस सुसेकले गोलको दिशा दिएका थिए । तर, अफसाइड पोजिसनमा हुँदा गोलले मान्यता पाएन ।
८०औं मिनेटमा दक्षिण कोरियाले अग्रता लियो । ओएच ह्योङयुले गोल गर्दै दक्षिण कोरियालाई जितको बाटो देखाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र दक्षिण कोरिया विजयी भयो ।
समूह ‘ए’ मा पहिलो जित निकालेको दक्षिण कोरिया ३ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ । समान ३ अंक जोडेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।
अंकविहीन चेक रिपब्लिक तेस्रो र दक्षिण अफ्रिका अंकतालिकाको पुछारमा छन् ।




प्रतिक्रिया दिनुहोस्