निर्मला पन्त हत्याकाण्डको ८ वर्ष: ती आमाका अझै सुकेनन् परेली, गृहमन्त्रीज्यू कहिले हुन्छ ‘एक्सन’?(खुला पत्र)

भक्तराज जोशी

कञ्चनपुर :- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको विभत्स बलात्कार र हत्या भएको आगामी साउनमा ८ वर्ष पूरा हुँदैछ। यो लामो कालखण्डमा देशमा कति सरकारहरू फेरिए, कति गृहमन्त्रीहरू फेरिए, तर फेरिएन त केवल निर्मलाकी आमा दुर्गादेवीको आँखाको आँसु र न्याय पाउने व्यग्र प्रतीक्षा। झन्डै एक दशक पुग्न लाग्दा पनि एउटी आमाका परेली निथ्रुक्क भिजिरहेकै छन्। राज्यको ढोका घच्घच्याउँदा-घच्घच्याउँदा ती आमाका गोडा गलीसके, तर न्यायको घाम अझै झुल्किएको छैन। यो सिंगो राष्ट्र र हाम्रो कानुनी राज्यको उपहास हो।
यतिबेला देशले सुशासन र ‘अपरेशन’ मा विश्वास राख्ने युवा, जुझारु र आशालाग्दा गृहमन्त्री सुधन गुरुङलाई पाएको छ। उहाँको कार्यशैली र न्यायप्रतिको प्रतिबद्धताले आम नागरिकमा एक पटक फेरि भरोसा जगाएको छ। यही भरोसाका बीच सुदूरपश्चिम र सिंगो देशले गृहमन्त्रीज्यूको ‘एक्सन’ लाई नियालिरहेको छ।
यसै सन्दर्भमा, म एउटा संचारकर्मी,आम नागरिक र ती पीडित आमाको तर्फबाट गृहमन्त्रीज्यूलाई सम्बोधन गरी यो खुला पत्र तयार गरेका छौ ।

आदरणीय गृहमन्त्री सुधन गुरुङ ज्यू,
गृह मन्त्रालय, सिंहदरबार, काठमाडौँ।


विषय: निर्मला पन्तको आत्माले कहिले न्याय पाउँछ, गृहमन्त्रीज्यू?
महोदय,
सिंहदरबारको कुर्सीमा बस्नेहरूका लागि ‘निर्मला पन्त’ एउटा पुरानो फाइल वा केवल एउटा नाम मात्र हुन सक्छ, तर यो देशका आम नागरिक र कञ्चनपुरकी ती अभागी आमाका लागि यो कहिल्यै निको नहुने गहिरो घाउ हो। झन्डै ८ वर्ष भयो, न्यायको आशमा ती आमाका परेली अझै सुकेका छैनन्। अपराधीहरू खुला आकाशमुनि घुमिरहँदा र न्यायको फाइल मन्त्रालयका दराजहरूमा धुलो जमेर बसिरहँदा, राज्य हुनुको बोध कसरी गर्ने?
विगतमा धेरै गृहमन्त्रीहरू आए, जसले पदभार ग्रहण गर्दा “निर्मला पन्तको हत्यारालाई पत्ता लगाउनु मेरो पहिलो प्राथमिकता हुनेछ” भनेर ठूला-ठूला भाषण गरे। तर, ती भाषण केवल कुर्सी सुरक्षित गर्ने हतियार मात्र बने, परिणाम शून्य रह्यो।
वर्तमानमा देशले तपाईं जस्तो भुइँमान्छेको मर्म बुझ्ने, विकृतिविरुद्ध खरो उत्रिने र परिणाममुखी काम गर्न रुचाउने ‘गुरूङ’ (किराती) को छोरोलाई गृहमन्त्रीको रूपमा पाएको छ। तपाईंको आगमनसँगै देशमा थुप्रै पुराना र पेचिला मुद्दाहरूमा सुधारका संकेतहरू देखिएका छन्। त्यसैले त आज आम जनताले फेरि एकपटक आशाका नजरले तपाईंलाई हेरिरहेका छन्।
गृहमन्त्रीज्यू,
निर्मला पन्तको मुद्दा केवल एउटी बालिकाको हत्याको विषय मात्र होइन, यो नेपालको फितलो अनुसन्धान प्रणाली र राजनीतिक पहुँचका अगाडि लाचार बनेको कानुनको ऐना हो। यदि तपाईंको कार्यकालमा पनि यो मुद्दाले किनारा पाउन सकेन भने, जनताको यो व्यवस्था र राज्यका निकायमाथिको विश्वास सधैँका लागि टुट्नेछ।
अब आश्वासन होइन, एक्सन चाहिएको छ। पुराना अनुसन्धानका त्रुटिहरूलाई सच्याउँदै, राजनीतिक वा शक्तिको दबाबलाई चिरेर यो घटनाको निष्पक्ष र प्रभावकारी पुनः अनुसन्धान गराइयोस्। अपराधी जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्, उसलाई कानुनको कठघरामा उभ्याइयोस्।
ती रुञ्चे स्वरमा न्याय मागीरहेकी आमाको आँसु पुछ्ने ऐतिहासिक र साहसिक काम तपाईंको नेतृत्वमा होस्। निर्मलाका थाकेका र सुकेका परेलीले अब त न्यायको उज्यालो देख्न पाऊन्।
यो देशमा न्याय अझै मरेको छैन भन्ने कुरा व्यवहारमा प्रमाणित गरेर देखाउने जिम्मेवारी अब तपाईंको काँधमा छ, गृहमन्त्रीज्यू!

भक्तराज जोशी (संचारकर्मी)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार