सेती लोकमार्गमा ६१ करोड ७९ लाख बजेट, सुदूरपश्चिमलाई चीनसँग जोड्ने सपना अगाडि बढ्दै

भक्तराज जोशी

कैलाली । सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित सेती लोकमार्ग (टिकापुर–लोडे–चैनपुर–ताक्लाकोट) सडक आयोजनाअन्तर्गत बझाङ र अछाम खण्डका लागि आगामी आर्थिक वर्षमा कुल रु. ६१ करोड ७९ लाख बजेट विनियोजन गरिएको छ।

कैलाली निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य केपी खनालको पहलमा उक्त बजेट सुनिश्चित भएको जनाइएको छ। सरकारले सार्वजनिक गरेको विवरणअनुसार चैनपुर-ताक्लाकोट सडक योजना (बझाङ) का लागि रु. १३ करोड ९४ लाख ९६ हजार र अछाम खण्डका लागि रु. ४७ करोड ८४ लाख ४ हजार छुट्याइएको छ।

टिकापुर/खक्रौला नाकाबाट सुरु भई कैलालीको लम्की, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर जोडिने यो सडकले चीनको तिब्बतस्थित ताक्लाकोट (उरै भञ्ज्याङ) सम्म पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ। चैनपुरदेखि ताक्लाकोटसम्मको दूरी करिब ११७ किलोमिटर तथा लम्की वा टिकापुरदेखि चीन सीमासम्मको कुल दूरी करिब ३०० देखि ३४० किलोमिटर रहने अनुमान गरिएको छ। विशेषज्ञहरूका अनुसार यो मार्ग सञ्चालनमा आएपछि नेपाल-भारत-चीनबीचको छोटो व्यापारिक करिडोरका रूपमा विकास हुने सम्भावना छ।

उक्त सडक निर्माण सम्पन्न भएमा त्रिदेशीय व्यापार विस्तार, कैलाश मानसरोवर जाने धार्मिक पर्यटन प्रवर्द्धन, जडीबुटी तथा स्थानीय कृषि उत्पादनको बजार विस्तार र सुदूरपश्चिमका पहाडी जिल्लामा पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। लामो समयदेखि निर्माण कार्य सुस्त रहेको उक्त आयोजनाले यस वर्षको बजेट विनियोजनपछि गति लिने विश्वास गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार