कञ्चनपुर: कञ्चनपुरमा आलुको उत्पादन उत्साहजनक भए पनि पर्याप्त भण्डारण सुविधाको अभावले किसानहरू मारमा परेका छन्। शीतभण्डार (कोल्ड स्टोर) निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारले करोडौँ रुपैयाँ लगानी गरे पनि ती संरचना सञ्चालनमा नआउँदा किसानले उत्पादन उचित मूल्यमा बिक्री गर्न पाएका छैनन्।
दोधारा चाँदनी नगरपालिका–८ का किसान प्रेम रोकायाले यस वर्ष पाँच कट्ठा जमिनमा लगाएको आलुबाट राम्रो उत्पादन प्राप्त भएको बताए। तर भण्डारण गर्ने व्यवस्था नहुँदा प्रतिकिलो १५ रुपैयाँमै आलु बेच्नुपरेको उनको भनाइ छ। बिउका लागि छुट्याएर राखिएको आलु समेत कुहिन थालेपछि आगामी सिजनमा पुनः महँगो मूल्यमा बिउ किन्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए।
आलु भण्डारणको समस्या दोधारा चाँदनीमा मात्र सीमित छैन। बेदकोट नगरपालिका–७ का किसान आर्यन डगौराले स्थानीय कोल्ड स्टोर सञ्चालनमा नआउँदा आलु भण्डारणका लागि कैलालीसम्म लैजानुपर्ने बाध्यता रहेको बताए। ढुवानी, मजदुरी र भण्डारण खर्च जोड्दा प्रतिक्विन्टल करिब एक हजार रुपैयाँ अतिरिक्त खर्च हुने गरेको उनको भनाइ छ। यसले खेतीको लागत बढेको र धेरै किसान आलुखेतीबाट विस्थापित हुन थालेको उनले बताए।
कृषि उत्पादन संरक्षणका लागि प्रदेश सरकारले दोधारा चाँदनी र पुनर्वास क्षेत्रमा कोल्ड स्टोर निर्माण गर्न एक करोड १४ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको थियो। संघीय सरकार र स्थानीय तहको समेत लगानी जोड्दा कञ्चनपुरमा कोल्ड स्टोर निर्माणमा २० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तर तीन वर्षअघि निर्माण सम्पन्न भएको दोधारा चाँदनीको कोल्ड स्टोर अझै सञ्चालनमा आउन सकेको छैन।
स्थानीय तहले थ्री–फेज विद्युत् लाइनको अभावलाई सञ्चालन नहुनुको प्रमुख कारण बताएको छ। तर किसानहरूले भने आवश्यक पूर्वतयारी र दीर्घकालीन योजना बिना संरचना निर्माण गरिएकाले आफूहरूले सास्ती खेप्नुपरेको आरोप लगाएका छन्।
किसानहरूका अनुसार समयमै कोल्ड स्टोर सञ्चालनमा नआए करोडौँको सरकारी लगानी उपयोगविहीन हुने मात्र होइन, कृषि उत्पादन बढाउन गरिएको प्रयास पनि प्रभावहीन बन्न सक्छ। उनीहरूले भण्डारण सुविधा तत्काल सञ्चालनमा ल्याएर उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।





प्रतिक्रिया दिनुहोस्