प्रधानमन्त्रीमाथि खनियो नेकपा, विवादित भनाइ तत्काल सच्याउन माग

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धमा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भएको उल्लेख गरेका छन् । पार्टीले उक्त अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेको छ।

ज्वालाले अन्तर्राष्ट्रिय सीमा अतिक्रमण र सीमावर्ती क्षेत्रमा हुने जग्गाको भोगचलन (क्रस होल्डिङ) फरक विषय भएको उल्लेख गर्दै भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा गरेको अतिक्रमणलाई नेपालले पनि भारतको भूमि कब्जा गरेको भन्ने अभिव्यक्तिसँग तुलना गर्न नमिल्ने भनेका छन् ।

नेकपाले सुगौली सन्धि र सीमा स्तम्भका आधारमा निर्धारण गरिएको सीमारेखाका कारण दुवैतर्फ सम्पत्ति वा खेतीयोग्य जमिन पर्न सक्ने भए पनि त्यसलाई भूमि कब्जा भन्न नमिल्ने स्पष्ट पारेको छ।

पार्टीले नेपालले भारतको कुनै भूभाग कब्जा नगरेको दाबी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग भएको आफ्नो अडान दोहोर्‍याएको छ। यसका साथै, सीमा समस्या समाधानका लागि कूटनीतिक संवाद आवश्यक रहेको उल्लेख गरेको छ।

नेकपाले प्रधानमन्त्रीको विवादास्पद भनाइ तत्काल सच्याउन, संसद्को रेकर्डबाट हटाउन तथा राष्ट्रिय हितका विषयमा राष्ट्रिय सहमति कायम गरी भारतसँग तथ्यका आधारमा कूटनीतिक पहल अघि बढाउन सरकारसँग माग गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार