धनगढीः पछिल्ला तीन शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाले धनगढी उपमहानगरपालिकाभित्र सामुदायिक र संस्थागत विद्यालयबीचको शैक्षिक उपलब्धिमा ठूलो अन्तर देखाएको छ। उपमहानगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार संस्थागत विद्यालयको नतिजा लगातार मजबुत देखिँदा सामुदायिक विद्यालयको उपलब्धि अपेक्षाकृत कमजोर देखिएको हो।
शैक्षिक सत्र २०८० मा धनगढीका ७३ विद्यालयबाट तीन हजार ३० जना विद्यार्थी एसइईमा सहभागी भएका थिए। तीमध्ये सामुदायिक विद्यालयका दुई हजार ११० र संस्थागत विद्यालयका ९२० विद्यार्थी थिए। परीक्षामा कुल एक हजार ३३२ विद्यार्थी उत्तीर्ण भएका थिए। सामुदायिकतर्फ २६ दशमलव ९७ प्रतिशत विद्यार्थी मात्र सफल हुँदा संस्थागत विद्यालयको नतिजा ८२ दशमलव ९३ प्रतिशत पुगेको थियो। समग्रमा उक्त वर्ष ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए।
शैक्षिक सत्र २०८१ मा भने नतिजामा उल्लेख्य सुधार देखिएको थियो। उक्त वर्ष दुई हजार ६२६ विद्यार्थी परीक्षामा सहभागी भएकामा १ हजार ९८३ जना उत्तीर्ण भएका थिए। सामुदायिक विद्यालयतर्फ ५४ दशमलव ७४ प्रतिशत तथा संस्थागत विद्यालयतर्फ ८७ दशमलव ४६ प्रतिशत विद्यार्थी सफल भएका थिए। समग्र उत्तीर्ण प्रतिशत ७५ दशमलव ५१ पुगेपछि धनगढीको शैक्षिक क्षेत्रमा सकारात्मक संकेत देखिएको थियो।
तर, शैक्षिक सत्र २०८२ मा पुनः नतिजा घटेको देखिएको छ। यो वर्ष तीन हजार ६२५ विद्यार्थी एसइईमा सहभागी भएकामा सामुदायिक विद्यालयका एक हजार ५४८ र संस्थागत विद्यालयका दुई हजार ७७ विद्यार्थी रहेका थिए। नतिजाअनुसार सामुदायिकतर्फ ५२ दशमलव ३९ प्रतिशत तथा संस्थागततर्फ ८१ दशमलव ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। समग्रमा ६९ दशमलव २४ प्रतिशत विद्यार्थी सफल भएको उपमहानगरपालिकाले जनाएको छ।
तीन वर्षको नतिजा तुलना गर्दा संस्थागत विद्यालयले निरन्तर राम्रो प्रदर्शन गरिरहे पनि सामुदायिक विद्यालयको नतिजा स्थिर हुन नसकेको देखिन्छ। शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयमा थप लगानी, शिक्षक व्यवस्थापन र शैक्षिक वातावरण सुधार आवश्यक रहेको सरोकारवालाको भनाइ छ।





प्रतिक्रिया दिनुहोस्