काठमाडौं । प्रथम राष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बाट गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् ।
डा. यादवले टुँडिखेलमा आयोजना हुने आगामी गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्ने विश्वास रहेको बताएका हुन् । नेपाल प्रेस युनियनद्वारा बुधबार आयोजित विधान सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो भनाइ राखेका हुन् ।
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा र सदनमा पनि अहिलेसम्म सम्बोधन नगरेको सन्दर्भ उल्लेख गर्दै यस्तो भनाइ राखेका हुन् । यादवले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै कार्यकारी रहेको पनि बताए ।
प्रधानमन्त्री शाहले भने गणतन्त्र दिवसमा सम्बोधन गर्नका लागि यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाइसकेका छन् ।
कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले भने, “प्रधानमन्त्री भएको दुई महिना भइसक्यो, उहाँले सम्बोधन गर्नुपर्ने, म पूर्वराष्ट्रपति, अहिले नागरिक छु, म आशा गरिरहेको छु कि हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्नुहुन्छ ।”
प्रधानमन्त्रीको दृष्टिकोण सुन्नका लागि सम्पूर्ण नेपाली जनता आतुर रहेको पनि उनले बताए । “उहाँको मुखबाट सुन्नुपर्ने, उहाँले देश र संसद्लाई अहिलेसम्म सम्बोधन गर्नुभएको छैन । आशा गरौँ, हाम्रो गणतन्त्र संस्थागत हुँदै जान्छ,” पूर्वराष्ट्रपति यादवले भने ।
साथै, उनले युवा संसद् र सरकारमा आएको सन्दर्भ उल्लेख गर्दै यो सय वर्षको योगदानको उपलब्धि रहेको बताए । यो उपलब्धिलाई कसरी संस्थागत गरेर कसरी अघि बढाउने भनेर राम्रोसँग सोच्न पनि सरकारलाई सुझाए ।





प्रतिक्रिया दिनुहोस्