काठमाडौँ, | वर्तमान सरकार गठन भएलगत्तै वर्षौँदेखि थन्किएका ठुला–ठुला भ्रष्टाचारका फाइलहरू खोल्दै हाइप्रोफाइल नेता र नामुद व्यापारीहरूलाई धमाधम पक्राउ गरेर जनमानसमा सर्वप्रिय बनेका पूर्वगृहमन्त्री सुधन गुरुङ यतिबेला आफैँ राज्यको अनुसन्धानकारी निकायको घेरामा परेका छन्। विगतमा विधिको शासन र सुशासनको पक्षमा कडा अडान राख्दै आएका गुरुङमाथि अकस्मात वित्तीय अपारदर्शिताको गम्भीर आरोप लागेको हो।
आफ्नो घोषित सम्पत्ति विवरणमाथि अख्तियार र सरोकारवाला निकायहरूबाट गम्भीर प्रश्न उठेपछि, उनले अनुसन्धान प्रक्रियालाई पूर्ण रूपमा निष्पक्ष र प्रभावकारी बनाउन नैतिकताका आधारमा आफ्नो पदबाट राजीनामा दिएका थिए। उनको यो कदमलाई कतिपयले राजनीतिक नैतिकताको उदाहरण मानेका छन् भने कतिपयले यसलाई कानुनी कारबाहीबाट बच्ने रणनीतिका रूपमा हेरेका छन्।
गुरुङको राजीनामा स्वीकृत भएसँगै अनुसन्धानकारी निकायहरूले उनीमाथिको छानबिन प्रक्रियालाई तीव्र पारेका छन्। स्रोतका अनुसार, पूर्वगृहमन्त्री गुरुङको बैंक ब्यालेन्स, वित्तीय संस्थामा रहेको मौज्दात, विभिन्न व्यवसायमा गरिएको साझेदारी र घोषित सम्पत्तिको वास्तविक भित्री स्रोत खोतल्नका लागि एक विशेष प्राविधिक टोली नै परिचालन गरिएको छ। यो टोलीमा बैंकिङ विज्ञ, डिजिटल फरेन्सिक विशेषज्ञ र सम्पत्ति शुद्धीकरण अनुसन्धानका अधिकारीहरू संलग्न रहेका छन्।





प्रतिक्रिया दिनुहोस्