बैतडीमा मंगलबार अपराह्न हावाहुरीसहित परेको असिनापानीले तरकारी तथा अन्नबालीमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी जिल्लाको तल्लो स्वराड क्षेत्रका किसानहरू बेमौसमी तरकारी र विभिन्न अन्नबाली नष्ट भएपछि चिन्तित बनेका छन्।
मेलौली नगरपालिका–१, ४, ५, ६ र ७ नम्बर वडामा सबैभन्दा बढी क्षति भएको जनाइएको छ। वडा नं. १ का अध्यक्ष शरदसिंह नेगीका अनुसार असिनापानीले मकै, भटमास, टमाटर, खुर्सानी र भन्टालगायतका बालीमा व्यापक असर पुर्याएको हो।
किसान चिन्तामणि भट्टले केही दिनमै गोड्ने तयारीमा रहेको मकैबाली र फल्न लागेको टमाटर असिनाले नष्ट गरिदिएको बताए। यस्तै, किसान सुनिता दयालले ठूलो मेहनत र लगानीबाट लगाइएको खेतीबाली सखाप हुँदा वर्षभरिका लागि खाद्यान्न तथा पशुचौपायाको आहारमा समस्या पर्ने चिन्ता व्यक्त गरे।
स्थानीयवासीका अनुसार मेलौली क्षेत्रका अधिकांश स्थानमा तरकारीका ब्याडसमेत नष्ट भएका छन्। वडा नं. ४ का अध्यक्ष कर्णबहादुर चन्दले उम्रिएर गोड्ने अवस्थामा पुगेको गहुँ र जौँबालीसमेत असिनाले क्षति पुर्याएको बताए। यसले आगामी उत्पादन घट्ने अनुमान गरिएको छ।
जिल्लाभर भएको वास्तविक क्षतिको विवरण भने अझै सङ्कलन भइरहेको जनाइएको छ। असिनापानीसँगै आएको हावाहुरीपछि बैतडीमा चिसोसमेत बढेको स्थानीयले बताएका छन्।





प्रतिक्रिया दिनुहोस्