काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै पार्टीका अन्य दुई नेता पनि भारत भ्रमणमा जाने भएका छन् ।
लामिछाने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नीतिन नवीनको औपचारिक निम्तोमा भारतको तीन दिने भ्रमणका लागि जेठ १८ गते नयाँ दिल्ली जाँदैछन् । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहने रास्वपाले जनाएको छ । त्यसैगरी रविपत्नी निकिता पौडेल र लामिछानेका स्वकीय सचिव अविनाश आचार्य पनि दिल्ली जाने छन् ।
लामिछानेलाई जेठ १९ गते भाजपा अध्यक्ष नवीनले भाजपा मुख्यालयमा स्वागत गर्नेछन् । सोही क्रममा दुई नेतृत्वबीच औपचारिक संवादसमेत हुने रास्वपाले जनाएको छ ।
सोही दिन लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नेछन् । समय भने खुलाइएको छैन । भारतीय विदेशमन्त्री एस जयशंकरसहित केही मन्त्रीहरुसँग हुने भेटवार्ताको तालिका भने तय भइसकेको जनाइएको छ ।
नेपालमा नयाँ सरकार बनेपछि नेपालबाट भारतमा हुन लागेको यो सबैभन्दा उच्चस्तरको भ्रमण हो ।
भारतले समय समयमा नेपालका सत्तारुढ दलका नेताहरुलाई भारत भ्रमण गराउँदै आएको छ । भारतीय विदेश मन्त्रालय र भारतीय जनता पार्टीको समन्वयमा यस्तो भ्रमण हुने गरेको छ । यसअघि पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले पनि भाजपाको निमन्त्रणमा भारत भ्रमण गरिसकेका छन् ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ २० गते स्वदेश फर्किने छ ।




प्रतिक्रिया दिनुहोस्